भिम माविमा पुस्तकालय भवन निर्माण

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, भाद्र १७ २០७६

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ ।
पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १८ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो ।
संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्थानीयबासीबाट तीन लाख रुपैयाँ बराबरको श्रमदान भएको विद्यालयले जनाएको छ । संस्थाले १ हजार ४ सय थान विभिन्न बिधाका पुस्तकहरु पनि उपलब्ध गराएको छ । यसअघि पुस्तकालय स्थापना भएपनि भवन अभावमा व्यवस्थित हुन सकेको थिएन् ।
कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा बालकक्षा सहित २ सय १५ जना विद्यार्थी रहेका छन् । बेलायती नागरिकहरुले स्थापना गरेको पहार ट्रसको सहयोगमा यसअघि अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा आठ कोठे भवन निर्माण भएको बताइएको छ ।
यसैबिच अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
बालकक्षा देखि ५ कक्षा सम्मका २ सय ५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रधानाध्यापक शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । उनिहरुलाई एक÷एक थान विद्यालय झोला, कलर बक्स, ज्यामिति बक्स, पेन्सील, कापी वितरण गरिएको हो ।