मोदी गाउँपालिकाले सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्दै

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
बुधबार, साउन २२ २០७६

पर्वत जिल्लाको मोदी गाउँपालिकाले चालु आर्थिक बर्ष देखि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम शुरु गर्ने भएको छ ।

चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममा सुत्केरी आमासंग उपाध्यक्ष कार्यक्रम लागु गर्दै सुत्केरी आमाहरुलाई पोषणमा सहयोग गर्ने गरि कार्यक्रम गाउँपालिकाले शुरुवात गर्ने भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सेती महतका अनुसार सुत्केरी आमाहरुको पोषणमा सहयोग गर्ने र उनीहरुको स्वास्थ्यको नियमित चेकजाँच गर्ने कार्यक्रम बमोजमि सुत्केरीसंग उपाध्यक्ष कार्यक्रमको शुरुवात गरिएको हो । चालु आर्थिक बर्षमा उक्त कार्यक्रमका लागि ९६ हजार रकम विनियोजन भएको छ ।

गाउँपालिकाले गर्भवती आमाहरुहरुको नियमित जाँच तथा बर्थिङ सेन्टरमै सुत्केरी गराउने कार्यक्रमलाई प्रभावकारी बनाउने रणनीति बमोजीम उक्त कार्यक्रमको शुरुवात गरिएको गाउँपालिका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार सुत्केरी महिलाहरुको स्वास्थ्य र नवजात शिशुको स्वास्थ्यको बारेमा परिवारलाई समेत सचेत गराउने गरी सचेतीकरण कार्यक्रम समेत गाउँपालिकाले चालु आर्थिक बर्षदेखि शुरुवात गर्ने भएको छ ।

नेपाल सरकारले समेत शुरुवात गरेको गर्भवती महिलाहरुको सुरक्षित प्रसुति सेवालाई भरपर्दो र प्रभावकारी बनाउँदै उनीहरुको स्वास्थ्य प्रति थप सजगता अपनाउने यो कार्यक्रम प्रभावकारी हुने गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेको भनाई रहेको छ ।

यो बर्षबाट शुरुवात गरिएको कार्यक्रमलाई आगामी बर्षदेखि अझै सघन रुपमा वस्ती र वडास्तरमा लैजाने गरी योजना गरिएको लामिछानेको भनाई छ । मोदी गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन । गाउँपालिका भित्र ८ वडा नै स्वास्थ्य चौकीहरु रहेको बताइएको छ ।

गाउँपालिकाले चालु बर्षदेखि सवै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको समेत सञ्चालन गर्ने गरी कार्यक्रम अगाडि बढाएको प्रवक्ता लामिछानेको भनाई छ । बर्थिङ सेन्टर नभएका स्वास्थ्य चौकीहरुमा समेत बर्थिङ सेन्टरको ब्यवस्था गर्दा प्रसुति सेवा गाउँ र वडास्तरमा सहज रुपमा उपलब्ध हुने बताइएको छ ।