एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको अध्यक्षमा थापा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, असार १७ २០७६

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिति बागलुङको अध्यक्षमा जितबहादुर थापा चयन हुनु भएको छ ।
सोमबार सम्पन्न समितिको पााँचौ विस्तारित बैठकले यसअघि वरिष्ठ उपाध्यक्ष रहनु भएका थापालाई अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै सङ्गठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्र क्षत्रीले शिक्षक राजनीतिक दलका कार्यकर्ता नभई दक्ष जनशक्ति तयार गर्ने गुरु भएको बताउनुभयो । उहाँले शिक्षकलाई विकसित सीप र प्रविधि आत्मसाथ गर्न आग्रह गर्नुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी बागलुङका कार्यालय सचिव चन्द्रबहादुर थापा ‘शिखर’, सङ्गठनका गण्डकी प्रदेश सदस्य युवराज शर्मा, सुर्य महत, जिल्ला सहसचिव प्रेमबहादुर छन्त्याल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बैठकले आगामी भदौ २१ गते गलकोट, हटियामा सङ्गठनको प्रथम जिल्ला परिषद् गर्ने निर्णय गरेको सचिव वीरबहादुर चोखालले बताउनुभयो । सङ्गठनका अध्यक्ष नगेन्द्र खरेल जिल्लाबाट स्थानान्तरण भई काठमाडौँ गएपछि अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष थापालाई मनोनित गरिएको हो ।
विस्तारित बैठक अध्यक्ष खरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष जितबहादुर थापाको स्वागत मन्तव्य र सचिव वीरबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।