बेग स्वास्थ्य चौकीलाई पाँच रोपनी जग्गा दान

धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति :
आइतबार, असार १५ २០७६

म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेगको स्वास्थ्य चौकीलाई स्थानीयले पाँच रोपनी जग्गा निशूल्क उपलब्ध गराएका छन् ।
बेगका लोकबहादुर फगामी, हिमबहादुर फगामी र गोपी फगामीले दश लाख रुपैयाँ मूल्य बराबरको जग्गा उपलब्ध गराउनुभएको हो । फगामी त्रयले शुक्रबार मालपोत कार्यालय म्याग्दीबाट स्वास्थ्य चौकी व्यवस्थापन समितिको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिनुभएको वडा अध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो ।
लोकबहादुर र हिमबहादुर फगामीले तीन रोपनी पाँच आना तथा गोपी फगामीले एक रोपनी ११ आना जग्गा उपलब्ध गराउनुभएको छ ।
गोपीले उपलब्ध गराउनुभएको सडकले छोएको जग्गालाई पाँच लाख र लोकबहादुर र हिमबहादुर उपलब्ध गराउनुभएकोलाई पाँच लाख रुपैयाँ मूल्य कायम गरिएको छ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि समुदायस्तरबाट जग्गाको व्यवस्थापन गरेर प्रक्रिया सुरु गरिएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।
हाल वडा कार्यालयको भवनबाट स्वास्थ्य चौकी सञ्चालन भइरहेको छ । साँघुरो कोठा भएको कच्चि भवनमा पर्याप्त कोठा तथा पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।