ग्रामिण क्षेत्रमा बसाईसराई रोक्न मदिरा र गाजाको ब्राण्डिङ गर्दैछौ – मुख्यमन्त्री

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ ६ २០८३

बागलुङ ६ जेष्ठ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ग्रामीण क्षेत्रका जनतालाई बसाइसराइ रोक्न प्रदेश सरकारले मदिरा र गाजाको व्यवसायिक उत्पादन र बिक्री गर्न सक्ने गरी नीति ल्याएको बताउनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–८ को लेखानी स्वास्थ्य चौकीमा स्थापना भएको तीनकोठे फिजियोथेरापी, किशोर–किशोरीमैत्री सेवा कक्षको उद्घाटन गर्दै उहाँले केही विवाद र केही समर्थनका बीच प्रदेश सरकारले ती दुइ नीति ल्याउन लागेको बताउनुभयो । उहाँले भन्दै रक्सीको नीति छिट्टै आउने र गाजाको नीति पनि सबै तर्फको सहमतिमा ल्याउने पहल भएको जानकारी दिनुभयो । उहाँले अलपत्र परेका ठूला योजना तथा मझौला योजनामा आगामी वर्ष सम्पन्न गर्नेगरी योजना र बजेट बनाउने बताउनुभयो ।

त्यस बाहेक १ करोड रुपैयाँ लगानी गर्दा काम सम्पन्न हुने सबै खानेपानी आयोजनालाई बजेट राखेर नागरिकको आवस्यकता पुरा गर्ने योजना रहेको दाबी गर्नुभयो ।नागरिकको स्वास्थ्य सेवालाई चुस्त बनाउन गण्डकी प्रदेश सरकार प्रतिवद्द रहेको बताउनुभयो । उहाँ ले अत्यावस्यक सेवा गाउँमा दिएर नागरिकलाई राहत दिने गरी महत्पुर्ण काम भएको पनि बताउनुभयो ।

वडा स्तरमा जनतालाई सोधेर बनाएका योजनाले दिगो विकास हुने भन्दै एकांकी रुपमा आएका योजनाले अविश्वास बढाएको पनि बताउनुभयो । अलपत्र परेका ४ सय ६७ योजना पुरा गरेर जनतालाई घरघरमा शुद्द खानेपानीको आवस्यकता पुरा गराउने लक्ष्यमा प्रदेश सरकारले काम गरेको उहाँले जानकारी दिनुभयो ।लेखानीमा हरेक वर्ष वडाभरका नागरिक जम्मा गरेर अघिल्लो वर्ष गरेका योजनाको सार्वजनिकीकरण गर्ने र आगामी योजनाको तर्जुमा गर्दै आएको छ ।

फिजियोथेरापी गर्ने बिरामी बढेपछि सदरमुकाम रिफर गर्ने बाध्यता हटाउन गण्डकी प्रदेश सरकारको ३७ लाख रुपैयाँको लागतमा कक्ष बनाइएको वडाअध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिनुभयो । त्यस बाहेक प्रदेश सरकारकै ४० लाख लागतमा स्वास्थ्य चौकीको हल व्यवस्थापन समेत गरिएको छ ।

वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष प्रमानन्द कंडेलको अध्यक्षता, वडा सदस्य मोमबहादुर पुनको संचालन, कार्यपालिका सदस्य पूर्णमाया सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी सांसद चम्पा खड्का, पुर्व मन्त्री मणीभद्र शर्मा कँडेल, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, वडा नं. १ का अध्यक्ष खड्ग थापा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद शर्मा निउरे, स्थानीय सामाजिक अगुवा दिलबहादुर काउचा, कृष्ण छन्त्याल, डम्मरबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट मनबहादुर थापामगर र समाजसेवी खड्गबहादुर काउचा पुनलाई सम्मान गरिएको थियो ।