मुस्ताङका २१ मतदान केन्द्रमा अक्सिजनको व्यवस्था

/ प्रकाशित मिति :
बिहिबार, फाल्गुन १४ २០८२

बागलुङ, १४ फागुन – मुस्ताङमा समुन्द्री सतहदेखि तीन हजार माथिको उचाइमा रहेका २१ मतदान केन्द्रमा अक्सिजन सहित प्राथमिक उपचारमा सामग्रीसमेत पठाइने भएको छ ।

पाँच स्थानीय तहमा ३९ मतदान स्थल रहेकोमा उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका सोह्र वटा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाँच मतदान केन्द्रमा पहिलोपटक अक्सिजनको व्यवस्था गरिएको हो ।

मतदान केन्द्र खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारीको स्वास्थ्य परीक्षण, विगतमा काम गरेको अनुभवसहित अचानक अक्सिजनको कमी भएमा प्रयोग गर्ने गरी प्राथमिक उपचारका सामग्रीको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङका २१ मतदान केन्द्र तीन हजारदेखि चार हजारको बिचमा रहेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । वारागुङ मुक्तिक्षेत्रको उच्च हिमाली क्षेत्रमा पर्ने समर, ध्याकर, साङ्ता, झारकोट र झोङ मतदान केन्द्र छन् ।

जिल्लामा एकसयभन्दा कम मतदाता रहेको केन्द्रमध्ये समर, ध्याकर, साङ्ता र लुप्रा पर्छन् ।उपल्लो मुस्ताङको लोमान्थाङ–२, छोसेरमा रहेको दिब्यदिप माध्यामिक विद्यालय समुन्द्री सतहदेखि तीन हजार ८५७ मिटर र वारागुङ मूक्तिक्षेत्र–५, साङ्तास्थित हिमाली आमावि समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताउनुभयो ।

बिरामी भएमा जगेडामा राखिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित कर्मचारीलाई समेत परिचालन गरिने छ ।यसअगाडिका निर्वाचनमा कर्मचारीसँग मतदान साम्रागी मात्रै पठाउने गरेकोमा यसपटक तीन हजारभन्दा माथिका २१ मतदान केन्द्रमा अक्सिजन क्यान, लेक लाग्दा आवश्यक पर्ने औषधी सहित स्वास्थ्य सामग्रीसमेत थपिएको निर्वाचन अधिकारी ज्ञवालीको भनाइ छ ।

विगतमा उच्च क्षेत्रमा खटिएका कर्मचारी बिरामी हुँदा समस्या भएकाले यसपटक माथिल्लो क्षेत्रमा काम गरेको अनुभव तथा लेक लाग्ने समस्या नभएका कर्मचारीलाई खटाइएको छ ।

जिल्लाको विकट तथा उच्च क्षेत्रमा अवस्थित मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा विभाजन गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३२८ रहेको छ।