न्यू एभरेष्ट एकेडेमी बागलुङको वार्षिकोत्सवमा शैक्षिक गुणस्तरको चर्चा

/ प्रकाशित मिति :
बिहिबार, माघ ९ २០८२

 

बागलुङ, माघ ८ – न्यू एभरेष्ट एकेडेमी रामरेखा १ बागलुङको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाईएको छ ।

वार्षिकोत्सव अन्तरगत विहिबार आयोजित मुलसमारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शैक्षक गुणस्तरको हिसावले न्यू एभरेष्ट एकेडेमी जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित भएको बताउनुभयो ।

गतसालको एसर्ईईमा यस विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको चर्चा गर्दै उहाँले , विद्यार्थीलाई व्यवहारिक र नैतिकवान बनाउनुपर्नेमा जोड दिनुभयो ।

विद्यार्थी लाई नैतिकवान र चरित्रवान बनाउनका लागि विद्यालयको महत्वपुर्ण हात रहने भएकोले कितावी ज्ञान मात्र नभै सामाजिक, सांस्कृतिक र नैतिक शिक्षामा पनि विद्यालयले जोड दिनुपर्ने पोखरेलले बताउनुभयो । पोखरेलले नेपालमा जस्तो प्रतिस्पर्धा गर्न सक्ने शिक्षा अन्य मुलुकमा नभएकोले गुणस्तरिय शिक्षाको लागि विदेशिनु नपर्ने चर्चा गर्नुभयो ।

सो अवसरमा विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै प्रिन्सीपल कृष्ण अधिकारीले यहाँ बाट उत्पादित विद्यार्थी लाई हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि विद्यालयले सक्दो मेहेनत र परिश्रम गरिरहेको बताउनुभयो । विद्यालयमा हाल ४ सय ९० जना विद्यार्थी अध्यनरत रहेको अधिकारीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमले विद्यालयले गरेको मेहेनत अनुसार विद्यार्थी र अभिभावक पनि सहयोगी भएकाले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल बनेको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालय लाई अझै ब्यवस्थापनका साथ थप मजबुत बनाउनेमा जोड दिनुभयो ।

कार्यक्रममा अभिभावक कृष्ण बहादुर नेपाली, विद्यार्थी अनुष्का कँडेल, आरोह पोखरेल, दिव्या गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा विद्यार्थीले आफैले तयार गरेका विभिन्न खानका परिकार समावेस भएको चारवटा स्टल समेत राखिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको नृत्य प्रस्तुत, विद्यार्थीको फेसन सो लगायतका कार्यक्रम समेत प्रस्तुत भएका थिए ।

कार्यक्रम अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक प्रवेश मुखिया र अनुस्का कँडेलको स्वागत तथा शिक्षिका सनम खत्रिको संचालनमा सम्पन्न भएको थियो ।