बागलुङमा १२ सय ९८ जना निर्वाचन प्रहरी परिचालन हुने

/ प्रकाशित मिति :
मंगलबार, पुष २९ २០८२

बागलुङ,२९ पुष– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लामा १ हजार २ सय ९८ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।निर्वाचनमा परिचालन गरिने निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति बागलुङले जिल्लामा आवश्यक १ हजार २ सय ९८ जना निर्वाचन प्रहरीको भर्नाका लागि आवश्यक प्रक्रिया अगाडी बढाएको हो ।

निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन पाइने गरि प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भर्नाका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ, ईलाका प्रहरी कार्यालय गलकोट, ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र ईलाका प्रहरी कार्यालय बरेङडाँडामा आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

४० दिन खटिने गरी ३४ हजार ७ सय ७६ रुपियाँ तलबसुविधा पाउने गरी भर्ना खुलेको र आवेदन आइरहेको उहाँले बताउनुभयो । यातायात तथा खानाखाजा, दुर्घटना विमाका साथै भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइने उहाँको भनाई थियो ।

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये बिगतमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भई सन्तोषजनक काम गरेका (म्यादी प्रहरी प्रमाणपत्र अनुसार), विदेशी मुलुकका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिकको हकमा भर्नामा प्राथमिकता दिइने उल्लेख गरिएको छ ।