लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङमा पनि मनाउन शुरु

/ प्रकाशित मिति :
मंगलबार, मंसिर १០ २០८२

 

बागलुङ, ९ मंसिर –लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बागलुङमा पनि मनाउन शुरु भएको छ । अभिायनको पहिलो दिन प्रभातफेरी सहित सचेतनामुलक सभा सम्पन्न गरिएको छ । बागलुङको समिक्षालय चोक बाट शुरु गरिएको प्रभातफेरी बजारका विभिन्न भागको परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।

मङ्गलबार भएको पहिलो दिनको शुभारम्भ गण्डकी प्रदेश सभाकी सदस्य कुशुम बुढा र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सेतो रिबन वितरण गरेर गर्नुभएको थियो ।

सो अवसरमा सांसद बुढाले लैङ्गिक हिंसा व्यवहारमा मात्र नभइ सोचाइ र सभ्यतामा देखिनुपर्ने बताउनुभयो । बुढाले हिंसा गर्नेलाई कारबाही गर्न राज्य सँधै लाग्नुपर्ने भन्दै हिंसा सहेर बस्दा पनि समाजमा समस्याहरू उत्पन्न भएको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा धेरै कार्यक्रम समावेश गरिने बताउनुभयो ।

उहाँले हिंसा प्रायः महिलामाथि हुने गरेको भनिए पनि पुरुष समेत हिंसाको सिकार बनेका घटना धेरै रहेको बताउँदै त्यसका लागि समाज सभ्य र हिंसा विरुद्ध लाग्ने तत्परता चाहिएको धारणा व्यक्त गर्नुभयो ।

१६ दिने अभियान अन्र्तगत नगरक्षेत्रका १४ वटै वडामा विभिन्न कार्यक्रम गरिने बताउनुभयो । श्रेष्ठले नगरपालिकाभित्र गरिने विकास निर्माणदेखि अन्य काममा महिला र पुरुषको समान सहभागिता मार्फत हिंसा न्युनीकरणको अभ्यास गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हिंसा विरुद्ध सबै लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।उहाँले कार्यक्षेत्रमा हुने, घरेलु हिंसा र अन्य क्षेत्रका हिंसाबाट मुक्त समाज बनाउन राज्यका निकाय बाहेक सामाजिक अभियान्ता समेत सहभागी बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको संचालन महिला शाखा प्रमुख रचना आचार्यले गर्नुभएको थियो । १६ दिनसम्म मनाइने कार्यक्रममा नगरपालिका, विभिन्न स्थानीय तहसहित वडा वडामा पनि रचनात्मक काम गरेर दिवस मनाउने लक्ष्य राखिएको आचार्यले जानकारी दिनुभयो । दिवसको अवसरमा सेतो रिबन लगाउने काम पनि सुरु भएको छ ।