बालाचतुदशीमा म्याग्दीको गलेश्वर सहित धौलागिरीका शक्तिपिठमा भक्तजनको भिड

/ प्रकाशित मिति :
बुधबार, मंसिर ४ २០८२

बागलुङ,३ मंसिर   – बालाचतुदर्शी पर्वको अवसरमा बेनीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाम लगायत धौलागिरीका शक्तिपिठमा भक्तजनले शतविज छरेका छन् । म्याग्दीमा बुधबार बिहानैदेखि शतबीज छर्न, कालीगण्डकी नदीमा स्नान गर्न र गलेश्वर शिवालय मन्दिरको दर्शन गर्ने भक्तजनहरूको भिड लागेको थियो ।

गलेश्वर धामस्थित रघुगङ्गा र कालीगण्डकी नदीको सङ्गमस्थलमा स्नान गरेर शिवालय मन्दिरमा शतबीज छर्ने भक्तजनहरूको कारण गलेश्वर क्षेत्रमा श्रद्धालु भक्तजनहरूको चहलपहल बढेको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ । बाजागाजा र भजनकीर्तन सहित भक्तजनहरू गलेश्वरमा शतबीज छर्न आएका हुन् ।

बिहान ५ बजे देखि नै पितृ उद्धारको कामना गर्दै शिवालय क्षेत्रमा शतबीज छर्नेको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।गलेश्वर धाममा शतबीज छर्न यसपाली म्याग्दी, बागलुङ, पर्वत, पोखरा ,झापा, मोरङ, विराटनगर र काठमाडौँ लगायतका जिल्लाहरूबाट भक्तजनहरू आएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ । उहाँका अनुसार शतबीज छर्न आउने भक्तजनहरूको सहजताका लागि सुरक्षाकर्मी र स्यमसेवकहरू परिचालन गरिएको थियो ।

देशभरबाट गलेश्वर शिवालयमा आउने भक्तजनहरूलाई पालैपालो शिवालयको दर्शन गर्न र सहज रूपमा मन्दिर परिसरबाट पवित्र कालीगण्डकी नदीसम्म शतबीज छर्ने वातावरण बनाइएको उहाँले बताउनुभयो ।

यस्तै बागलुङको काठेखोला बिहुँ स्थित त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम रामकोट, बानपा ४ गौरीधाम, पर्वतको गुप्तेस्वर लगायतका क्षेत्रमा पनि भिडभाडका साथ सतबिज छरिएको छ ।

यस वर्ष बाला चतुर्दशी पर्वमा गलेश्वरमा करिब ३० हजार भक्तजनहरू आउने अनुमान गरिएको छ । कालीगण्डकी नदी किनारमा एउटै नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय विश्वकै अलौकिक तिर्थस्थलको रूपमा समेत परिचित छ ।