उत्कृष्ट सडक निर्माण गर्ने बागलुङ नगरपालिकालाई सम्मान

/ प्रकाशित मिति :
बुधबार, साउन २२ २០८२

बागलुङ, २१ साउन –वश्व बैंकको ऋण सहयोगमा नेपाल सरकारबाट प्राप्त अनुदानमा निर्माण भइरहेको सडकको काम उत्कृष्ट भएको भन्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ ।

बागलुङ नगरपालिका भित्र कार्यान्वयन भइरहेका तीन वटा ठूला सडक कार्य सम्पादन मुल्याङ्कनमा बागलुङ नगरपालिका अनुदान प्राप्त गर्ने १७ नगरपालिका मध्ये उत्कृष्ट नगरपालिकामा पर्न सफल भएकाले सम्मान गरिएको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेको ३ प्रमुख सडक योजनाहरूको सफलतापूर्वक संचालन र कार्यान्वयनको मुल्याङ्कन गर्दै नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको हातबाट नगरप्रमुख बसन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।

५८ करोड अनुदानमा फेवा निर्माण कम्पनीले तीन वटा सडक मध्ये दुई वटा सडक सात महिनामै कालोपत्र गरेको थियो भने अर्को सडक कालोपत्रको अन्तिम चरणमा पुगेको बताइएको छ । श्रेष्ठले हालसम्मकै नमूना हुनेगरी स्तरोन्नतिसहित कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको जनाउनुभयो ।

नगरपालिकाले ठेक्का सम्झौता भएको एक वर्षमा तीन वटै सडक स्तरतरोन्नती पश्चात दुई वटा सडक कालोपत्र सम्पन्न गरिसकेको छ । नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना र विश्व बैंकसँगको सहकार्यलाई निरन्तर जारी राख्न नगरपालिका प्रतिबद्ध रहेको श्रेष्ठको भनाई थियो ।