वर्षासँगै आएको पहिरोले घर पुर्दा पर्वतको मोदीका दम्पत्ती बेपत्ता

/ प्रकाशित मिति :
आइतबार, साउन ५ २០८२

बागलुङ ४ साउन –भारी वर्षासँगै आएको पहिरो घर पुर्दा पर्वतको मोदी गाउँपालिकामा एकै परिवारका दुई जना बेपत्ता भएका छन्।
जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा माथिबाट आएको पहिरोले एक घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ बर्सिया विष्णुमती बिक बेपत्ता भएका हुन्।

बिककी बुहारी ३२ बर्सिया पवित्रा बिकले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।सडक अवरुद्ध हुँदा घटनास्थलमा प्रहरी पुग्न सकेको छैन भने स्थानीयले उद्धार कार्य जारी राखेका छन्। अहिले बेपत्ता दम्पतीको खोजी कार्य भइरहेको वडा सदस्य सन्तोष बिकले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने बताउनुभयो । प्रारम्भिक रूपमा आएको सूचनामा घरमा दुई जना रहेको बताइएको र उनीहरू भागेका थिए वा घरभित्र नै परे भन्ने कुराको यकिन जानकारी नआएको उहाँको भनाइ छ। तर भागेको हुन सक्ने विषयमा कुनै विवरणहरू प्रहरीमा नआएको उहाँले जानकारी दिनुभयो ।

शनिवार रातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भारी तथा अति भारी वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ।