तथ्यमा आधारित रहेर पत्रकारले हरेक क्षेत्रमा प्रश्न गर्नुपर्छ – शर्मा

/ प्रकाशित मिति :
बिहिबार, असार २६ २០८२

लक्ष्मी परियार
बागलुङ, २५ असार – नेपाल पत्रकार महासंघ बागलुङको २५ औं स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
पत्रकार महासंघ बागलुङले आफ्नो २५ औ स्थापना दिवस दुई दिवसीय बिभिन्न कार्यक्रम गरि मनाएको हो । पहिलो दिन मंगलवार पत्रकारहरुका लागि ध्यान शिविर र अन्तर शाखा आमन्त्रित मैत्रिपुर्ण फुटसल प्रतियोगिता गरि शुरु भएको दिवसको मुल समारोह बुधवार गरिएको हो ।

मुल समारोहको अवसरमा पूर्व अध्यक्षहरुलाई सम्मान, बिभिन्न पुरस्कार कोषबाट पत्रकारहरुलाई पुरस्कृत र फुटसल प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण गरिएको थियो । मुल समारोहको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै केन्द्रिय अध्यक्ष शर्माले पत्रकारितामा युवाको आकर्षण बढाउन पत्रकार महासंघले सीपमूलक र व्यबासायिक पत्रकारिताको तालिम संचालन गर्न जरुरी रहेको बताउनुभयो । पछिल्लो समयमा डिजिटल रुपमा गरिएको पत्रकारिताको गुणस्तर खस्किएकाले समाज परिवर्तनका लागि र सत्य तथ्य आधारित रहेर हरेक क्षेत्रका प्रश्न गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महासचिव तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य जमुना शर्मा बर्षा, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, बागलुङ शाखाका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, छिमेकी पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगर, पुरस्कृतबाट पुर्व अध्यक्ष दिल शिरिष, हरिलक्ष्मी नारायणप्रसाद स्मृती पत्रकारीता कोषका संस्थापक संरक्षक तिर्थप्रसाद श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष सिर्जना पन्तको स्वागत र सचिव नारायण रिजालको सन्चालनमा सम्पन्न भएको हो ।