रहनुभएन सादगी नेता पूर्व सांसद कंडेल

/ प्रकाशित मिति :
आइतबार, असार १५ २០८२

बागलुङ, १५ असार – प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार निधन भएको छ । बागलुङको काठेखोला गाँउपालिका – ६ घर भएका कँडेलको चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दैगर्दा निधन भएको परिवारका सदस्यले बताउनुभयो ।

२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र इमानदार नेताका रूपमा परिचित हुनुहन्छ । बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा निरन्तर क्रियाशील कँडेल नेपाली कांग्रेस बागलुङका पूर्व सभापति हुनुहुन्छ । २०४६ सालको आन्दोलनका क्रममा जेल परेका कंडेल बहुदलपछि पार्टी सभापति र सांसद बन्नुभएको थियो ।

१९९५ साल पुस १० गते काठेखोला गाउँपालिका वडा नं ६ बिहुँकोटमा जन्मनु भएका शर्माको शव आइतबार जन्मस्थल बिहु ल्याउने र सोमबार अन्त्येष्टि गरिने छोरा नविन कंडेलले जानकारी दिनुभयो । कँडेलका दुई छोरा र एक छोरी छन् ।