म्याग्दीको मुनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

/ प्रकाशित मिति :
मंगलबार, जेष्ठ १४ २០८२

 

बागलुङ, १३ जेष्ठ– म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाको दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्स्काभेटर चालक ३२ वर्षका खेमराज कुमालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्स्काभेटर चालक कुमालको शव एक्स्काभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिनुभयो । घटनापछि प्रहरी र स्थानीयवासीले एक्स्काभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्स्काभेटरसमेत पूर्णरूपमा क्षति भएको छ ।

दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ’पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।