बागलुङको निसीखोला स्थित अर्नाकोटमा खानेपानिको अभाव

/ प्रकाशित मिति :
बिहिबार, बैशाख ११ २០८२

बागलुङ, ११ बैशाख –बागलुङको निसीखोला स्थित अर्नाकोट गाउँका वासीन्दालाई खानेपानीको समस्याले सास्ती हुदै गएको छ । प्राकृतिक अनुपमले धनी तथा सुन्दर अर्नाकोट गाउँमा स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका हुन् ।

निसीखोला गाउँपालिका–२ देवीस्थानको उच्च भागमा पर्ने अर्नाकोट पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण धार्मिक गन्तव्यको रुपमा रहेपनि खानेपानीको अभावकै कारण अर्नाकोटवासीहरु गाउँ छोड्न बाध्य हुन थालेका छन् ।

खानेपानीको धारामा हिउँदमा मुस्किलले दुई गाग्री पानी पनि नआउने स्थानीयको गुनासो रहेको छ । खानेपानीको समस्या समाधानका लागि अर्नाकोटमा लिफ्ट आयोजनामार्फत खानेपानी वितरण गर्न खोजिए पनि उक्त आयोजनाले पानीको प्यास मेटाउन नसकेको स्थानीय छलविर विकले गुनासो गर्नुभयो ।

अर्नाकोटमा बाहै्रमास हुने खानेपानीको अभाव हुने गरेको र पानी लिन छिमेकी पालिका ढोरपाटन नगरपालिका–५ स्थित वसन्तधाराको मुलसम्म पुग्ने गरेको बताउनुभयो । केही वर्षअघि अर्नाकोटमा लिफ्टिङ प्रविधिबाट ल्याइए पनि पटक–पटक बिग्रिएर समस्या भएको छ ।
विसं २०४७ मा ल्याएको ल्याएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको स्थानीय ओमबहादुर रसाइलीले बताउनभुयो ।

उहाँले निसीखोलाको पातीहाल्ने नजिकैबाट पानी ल्याउन सम्भव देखिए पनि बजेट अभाव भएको बताउनुभयो ।
उच्च भू–भागमा रहेको अर्नाकोटमा खानेपानी अभाव रहेको बताउँदै वडाका अध्यक्ष कुविर विश्वकर्माले मुहानको समेत अभाव रहेकाले यस्तो समस्या भएको जानकारी दिनुभयो । समस्या समधानका लागि प्रयास भैरहेको उहाँको भनाई थियो ।