दुई दशकपछि बागलुङको निरयघाट सडक स्तरोन्ती

/ प्रकाशित मिति :
बुधबार, बैशाख १០ २០८२

बागलुङ, १० बैशाख – दुई दशकपछि बागलुङको निरयघाट सडक स्तरोन्नति भएको छ । तत्कालीन जिल्ला विकास समितिले १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गरि जोडेको नियरघाट सडक लामो समयको अन्तरालपछि स्तरोन्नती भएको हो ।
आर्थिक वर्ष २०६०÷६१ मा खुलेको सो सडक दुई दशकपछि विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि स्तरोन्नति गर्न थालिएको हो ।
कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाहस्थल पनि हो । सडक खुलेको दुई दशकसम्म पनि स्तरोन्नति नहुँदा सबैभन्दा बढी सास्ती मलामीले भोग्नुपरेको स्थानीयको गुनासो रहेको थियो ।

लामो समयसम्म सास्ती र सकस खेपेका मलामीमात्र नभै, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौंदेखि आजित बनेका निरयघाट र माझी बस्तीका स्थानीय अहिले भने खुसी भएको बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझीले बताउनुभयो ।

निरयघाट पहिलेको तुलनामा सडक सुविधाले फराकिलो र विस्तारित भएपनि यस क्षेत्रको विकासका नाममा गरिएको जथाभावी डोजर प्रयोग र पूर्वाधारले कुरुप तथा जोखिम बढाएको स्थानीय महेन्द्र आचार्यले बताउनुभयो । सडक विस्तारलगायत पूर्वाधार विकासमा स्थानीयसँग कुनै पनि समन्वय नगरी निर्माण कम्पनीले सडक फारिकलो र नाली बनाउँदा खुला चौर मासिएको उहाँको गुनासो रहेको छ ।

सडक स्तरोन्नति गर्न गत वर्ष जेठमा फेवा÷आशिष जेभीले जिम्मा पाएको थियो । सात करोड ५० लाखमा आगामी असार ३० गतेसम्म उक्त सडक कालोपत्र गर्ने योजना रहेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । हालसम्म ६० प्रतिशत काम सकिएको उहाँको दाबी रहेको छ ।