बागलुङमा पछिल्लो ८ महिनामा १ सय ७९ क्षयरोगी फेला

/ प्रकाशित मिति :
सोमबार, चैत्र १០ २០८१

बागलुङ, १० चैत–बागलुङमा पछिल्लो ८ महिनामा १ सय ७९ जनामा क्षयरोग लागेको पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङद्धारा क्षयरोग दिवसका अवसरमा आयोजित पत्रकार अन्तरक्रिर्यामा क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले चालु आर्थिक वर्षको ८ महिनामा ६४ जना महिला र एक सय १४ जना पुरुष गरी एक सय ७९ जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
बागलुङका १० पालिकामध्ये सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा क्षयरोगका बिरामी फेला परेका छन् ।

ढोरपाटन नगरपालिकामा ४३, बडिगाड गाउँपालिकामा ३८, गलकोट नगरपालिकामा २८, बागलुङ नगरपालिकामा २७, निसीखोला गाउँपालिकामा १४, जैमिनी नगरपालिकामा सात, ताराखोला गाउँपालिकामा चार, तमानखोला गाउँपालिकामा तीन, बरेङ गाउँपालिकामा चार र जैमिनी नगरपालिकामा सात जना क्षयरोगका बिरामी रहेको घिमिरेले जानकारी दिनुभयो । क्षयरोग परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

घिमिरेले गत वर्ष तीन सय १० जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।बागलुङमा गत आर्थिक वर्षमा क्षयरोगका कारण १० जनाको मृत्यु भएको सिमेत बताउनुभयो । यस वर्ष मृतकको सङ्ख्या आर्थिक वर्ष समाप्तिपछि मात्र जानकारी हुने उहाँको भनाई छ ।
बागलुङमा निको हुने दर ९० दशमलव ४ प्रतिशत रहेको निरीक्षण घिमिरेले बताउनुभयो । उहाँले बागलुङको चार पालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ अभियान सुरु भएको बताए। ‘गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष राखिएको जानकारी दिनुभयो ।

धुम्रपान र मध्यपान गर्नेलाई सङ्क्रमण बढी हुने देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो ।उहाँले कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरु समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने बताए। बागलुङमा पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि बढेको निमित्त प्रमुख सापकोटाले बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासघंका अध्यक्ष राम थापाले क्षयरोग नियन्त्रणका लागि संचारमाध्यमका तर्फवाट पनि सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।