बागलुङका न्यायिक समितिले जारी गरेको घोषणा समन्वयलाई हस्तान्तरण

धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, फाल्गुन २४ २០८१

बागलुङका न्यायिक समितिले जारी गरेको १२ बुदे घोषणापत्र जिल्ला समन्वय समितिलाई निगरानीका लागि हस्तान्तरण गरिएको छ ।
बागलुङका स्थानीय तहका न्यायिक समितिले गत २१ गते बडिगाड गाउँपालिका वडा नम्वर ७ को पर्यटकीयस्थल थामचौरमा जारी गरेको घोषणा पत्र जिल्ला समन्वय समितिका प्रमुखलाई निगरानीका लागि भन्दै हस्तान्तरण गरिएको हो ।
१० वटै स्थानिय तहका न्यायिक समितिका संयोजक एवँ पदाधिकारीहरुको बैठकबाट जारी गरिएको १२ बुदे घोषणा पत्र आयोजक बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन बनले पत्रकार सम्मेलन मार्फत समन्वय प्रमुख अमर थापालाई हस्तान्तरण गर्नु भएको थियो ।
घोषणा पत्र ग्रहण गर्दै समन्वय प्रमुख थापाले न्यायिक समितिलाई सक्रिय बनाउँदै र एकरुपकता कायम गर्दै न्यायको क्षेत्रमा सक्रियताका साथ काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको न्यायिक निरुपण, असल अभ्यास आदानप्रदान तथा न्यायिक क्षेत्रलाई चलायमान बनाउन न्यायिक समितिले गरेको कार्य सहनिय रहेको उहाँको भनाई थियो ।
बडिगाड गाउँपालिकाको थामचौरमा जिल्लाका १० पालिकाका न्यायिक समिति, न्यायिक सहजकर्ता तथा मेलमिलापकर्ताहरूको सहभागितामा भएको दोस्रो न्यायिक सम्मेलनले १२ बुँदे घोषणापत्र र १५ बुँदे आचारसंहिता जारी गरेको थियो ।
बडिगाड गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक वनले न्यायिक निरुपणमा आएका समस्या, कठिनाइ, असल अभ्यासलगायत विषयमा छलफल गरी घोषणापत्र र आचारसंहिता जारी गरिएको जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा २१७ मा उल्लेख भएबमोजिम स्थानीय सरकारमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था अन्र्तगत रहेर प्रविधि मैत्री काम गर्ने, छिटो न्याय सम्पादन गर्ने र गोपनियता कायम गर्ने लगायत विषय समेटेर घोषणपत्र जारी गरिएको उहाँको भनाई थियो ।