बागलुङमा ११ हजार ५ सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाईने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, माघ ९ २០८१

बागलुङमा ११ हजार ५ सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाईने भएको छ ।

एचपिभी खोप अभियानको विषयमा जिल्ला खोप समन्वय समिति र सन्चारकर्मीहरूको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बागलुङमा ११ हजार ५ सय ५५ जना किशोरीलाई एचपिभी खोप लगाईने भएको जानकारी दिइएको हो ।

पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि माघ २२ देखि फागुन ३ सम्म बागलुङ जिल्ला भरका किशोरीलाई खोप लगाईने भएको छ । ६ देखि १० कक्षामा अध्यनरत तथा १० बर्ष देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिनुभयो ।

२२ देखि २८ गते सम्म पहिलो चरणमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, काँठेखोला, बरेङ र ताराखोला गाउँपालिका तथा दोस्रो चरणमा माघ २८ गतेदेखि फागुन ३ सम्म ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकामा खोप लगाईने भएको छ ।

सिकोलिन नामको खोप लगाउन ३ सय १५ जना स्वास्थ्यकर्मी, ६ सय २६ जना संयसेवीका परिचालन गरिएको छ भने ३ सय १२ खोप केन्द्र तय गरिएको छ । आगमी दिनमा ६ कक्षामा अध्यनरत विद्यार्थीलाई नियमित खोप दिईने खोप सुपरभाईजर खत्रीले बताउनुभयो ।

स्त्रीरोग विशेषज्ञ बिजय ओझाले दिनमा नेपालमा चार जना महिला पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको बताउदै किशोरीलाई खोप लगाउदा भविश्यमा हुने क्यान्सरबाट बच्न सक्ने बताउनुभयो ।

ओझाले शारिरिक सम्पर्कमा आउनुभन्दा पहिला खोप लगाउदा प्रभावकारी हुँने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किसोरी छनौट गरिएको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले पनि मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक अमरबहादुर थापाको अध्यक्षता, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाको स्वागत, क्षय कुष्ट निरिक्षक देवप्रकाश घिमिरेको सन्चालनमा सम्पन्न भएको थियो ।