धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालको पदस्थापन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ ६ २០८१

त्रिभूवन विश्वविद्यालयद्वारा हालै नियुक्त भएका धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालको पदस्थापन भएको छ । आइतबार एक कार्यक्रमबीच निर्वतमान प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले सिलवाललाई पदस्थापन गराएका हुन् ।
उक्त अवसरमा नवनियुक्त क्याम्पस प्रमुख सिलवालले क्याम्पसको व्यवस्थापनलाई चुस्त बनाउने, शैक्षिक क्षेत्रलाई उचो बनाउने र नियमित भएका अन्य सबै राम्रा कामको निरन्तरता दिने बताए ।

उनले क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नेदेखि जिल्लाकै आर्थिक विकासको मेरुदण्डलाई अगाडि बढाउन पनि क्याम्पसको जनशक्तीलाई परिचालन गर्ने काममा साथ दिने बताए ।
अर्थशाष्त्र विषयअन्र्तगत विश्व बैंकको छात्रवृत्ति कोटामा ‘म्युनिसिपल फाइनान्स इन नेपाल’ शिर्षकमा उनले विद्यावारिधी गरेका थिए । उनको अध्ययनमा ‘अ स्टडी अफ वेस्टन डेभलपमेन्ट रिजन’ छनौट थियो ।

२०५५ सालमा त्रिवि सेवामा प्रवेश गरेका सिलवाल २०६१ सालमा उपप्राध्यापक भएका थिए । २०६८ सालमा विद्यावारिधी प्राप्त सिलवाल २०७० असार २९ गतेदेखि सहप्राध्यापक छन् ।
अर्थशाष्त्र, आर्थिक विकास, पर्यटन लगायतको क्षेत्रमा नियमित कलम चलाउने सिलवाल अब्बल प्राध्यापकको रुपमा चिनिन्छन् । उनले धौलागिरि बहुमुखी क्यामपसको अर्थशाष्त्र विभागीय प्रमुखमा १५ वर्ष बिताएका छन् । त्यस बाहेक व्यवस्थापन समितिमा ६ वर्ष, रोजगार समन्वय सेलको संयोजक र गण्डकी प्रदेश योजना आयोग विज्ञ सदस्यको रुपमा पनि कार्यरत छन् ।
बागलुङ नगरपालिका वडा नं. ३ मुलपानी स्थायी घर भएका सिलवालको नियुक्तीले क्याम्पसको भविष्य थप उचाइमा पुग्ने निर्वतमान प्रमुख राम प्रसाद उपाध्यायले बताए । कार्यक्रममा क्याम्पस प्राध्यापक संघ, स्वतन्त्र बिद्यार्थी युनियन, कर्मचारी युनियन लगायतका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।