विश्व विद्यालय टपर लाई सिधै निजामती सेवामा प्रवेशको प्रस्ताव पेश

/ प्रकाशित मिति :
बुधबार, पुष ३ २០८१

बागलुङ, २ पुस –प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विश्व विद्यालय टपर लाई सिधै निजामती सेवामा प्रवेश दिनुपर्ने प्रस्ताव पेश भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई निजामती सेवामा सिधै प्रवेश गराउनका लागि कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा सांसद खनालले विश्वविद्यालयमा ’गोल्ड मेडल’ प्राप्त गर्ने विद्यार्थीलाई नेपालमा नै सेवा दिने वातावरण बनाउनु पर्ने प्रस्ताव राख्नुभयो ।
निजामती सेवामा युवाहरूलाई आकर्षित गर्ने र विश्वविद्यालयमा सर्वोत्कृष्टलाई नेपालमा नै काम गर्ने वातावरण बनाउनका लागि निजामती सेवाका उच्च पदहरूमा बाहिरका व्यक्तिहरूको सिधै नियुक्ति (ल्याटरल इन्ट्री) को व्यवस्था राख्नुपर्ने प्रस्ताव खनालले राख्नुभएको हो ।
‘नेपाली विश्वविद्यालयका टपरहरू (गोल्ड मेडलिस्ट) लाई सिधै निजमती सेवामा प्रवेशका लागि कानुन बनाउनु पर्छ ।

निजामती सेवा विधेयकमा ल्याटरल इन्ट्रीको व्यवस्था गरौं जसका कारण नेपालका विश्वविद्यालय टप गर्नेहरूले अमेरिका, अस्ट्रेलियाका युनिभर्सिटीहरूमा प्रोफेसर बन्ने भन्दा पनि नेपालको निजामती सेवामा प्रवेश गरुन्,’ खनालको प्रस्ताव थियो । यस्तो व्यवस्था गर्दा मुलुकको निजामती सेवाप्रति आकर्षण बढ्ने उहाँको तर्क थियो ।

युवाहरूलाई निजामती सेवामा आकर्षित गर्नका लागि पनि कानुनी व्यवस्था निजामती विधेयकमा राख्नुपर्ने बताउनुभयो । त्यस्तै, आरक्षणको व्यवस्था एक व्यक्तिलाई एक पटकका लागि मात्रै गर्नुपर्ने प्रस्ताव पनि खनालले राखेका छन् । उहाँले एउटै व्यक्ति आरक्षणबाट सेवा प्रवेश गर्ने र त्यसपछि पनि बारम्बार आरक्षणबाट नै पदोन्नती हुने व्यवस्था सही नभएको बताउनुभयो ।

सांसद खनालले सहसचिवमा खुला प्रतिस्पर्धाको व्यवस्था राख्न नहुने पनि आग्रह गर्नुभएको छ । उहाँले सिधै सहसचिवमा खुला प्रतिस्पर्धाबाट आउँदा अनुभवको कमीका कारण काममा प्रभाव पर्ने बताएका छन् । सहसचिव पद आन्तरिक प्रतिस्पर्धाबाट गर्नुपर्ने उहाँको भनाइ छ ।