स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक

धौलागिरी संवाददाता / प्रकाशित मिति :
मंगलबार, मंसिर १८ २០८१

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका वडा नं. ९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै मतपरिणाम सार्वजनिक भएको हो ।
अन्तिम मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गर्दा एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वडामा विजयी भएको छ ।
माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन् ।
कुल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो । ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगंगा २ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।
आयोगका अनुसार नगरपालिकाका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष चार तथा वडाध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २ सय ७४ जना र स्वतन्त्र १ सय २ जना गरी जम्मा ३ सय ७६ उम्मेदवार थिए ।