सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पताल संचालन गर्ने: स्वास्थ्य मन्त्री पौडेल

विहुँकोट आधारभुत अस्पतालको उद्घाटन
धौलागिरी संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, मंसिर ४ २០८१

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पताल संचालन गर्ने बताउनु भएको छ ।
मंगलबार बागलुङको काठेखोला गाउँपालिका वडा नम्वर ६ मा नवनिर्मित विहुँकोट आधारभुत अस्पतालको उद्घाटन गर्दै उहाँले अब सातवटै प्रदेशमा मुटु र क्याम्सर रोगको विशिष्टिकृत अस्पताल संचालन गरिने बताउनुभएको हो ।
उहाँले अहिले प्रत्येक प्रदेशमा क्यान्सरको एक/एक वटा अस्पताल संचालनको प्रक्रियामा रहेको र आउँदा दिनमा मुटुरोगको पनि उपचार हुने गरि अस्पताल संचालनमा ल्याईने बताउनुभयो । पौडेलले मृगौलाको प्रत्यारोपणका लागिपनि हालसम्म दुई प्रदेशमा विशिष्टिगत अस्पताल संचालनमा ल्याई सकिएको जानकारी दिनुभयो ।
पौडेलले स्वास्थ्य क्षेत्रमा धेरै कुरा गर्ने मन भएता पनि श्रोत सुनिश्चित नभएका कारण अहिलेको अवस्थामा धेरै खर्च लाग्ने भन्दा पनि कम खर्च लाग्ने कामलाई प्राथमिकता दिएको बताउनुभयो । पौडेलले पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको पढाई भएको र अब नयाँ जनशक्ति उत्पादन भएपश्चात देशभरी नै डाक्टर स्वास्थ्यकर्मीको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
पौडेलले मंसिर १ गतेदेखी १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको रोग निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी गराउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा नयाँ संरचना निर्माण गर्नुभन्दा पहिले बनेका संरचनालाई थप व्यवस्थापन गरेर संचालन गर्न जरुरी रहेको बताउनुभयो ।
पौडेलले स्वास्थ्य क्षेत्रको पालिका तहबाटै प्रदेशहुँदै संघसम्म केही नितिगत सुधार गर्न आवश्यक रहेको भन्दै तिनै वटै तहसँगको समन्वयमा यस क्षेत्रमा नितिगत सुधार ल्याउन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले औषधी तथा उपकरण खरिद प्रक्रियामा सवै सरकारी अस्पतालले समयमा नै सम्पन्न गरेर जनतालाई सहज सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल, पूर्व साँसद गोविन्दप्रसाद शर्मा कँडेल, जग्गा व्यवस्थापन समितिका सदस्य नारायणप्रसाद शर्मा राजु, जग्गादातको तर्फबाट बेदप्रसाद कँडेल लगायतले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवँ वडा नम्वर ६ का अध्यक्ष बृहस्पती कँडेलको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष राजु थापाको स्वागत र कृष्णप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।