मुस्ताङको थसाङमा हिमपहिरो गएर बोक्सीखोला थुनियो,सतर्कता अपनाउन आग्रह

/ प्रकाशित मिति :
शुक्रबार, भाद्र ७ २០८१

बागलुङ, ७ भदौ – मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २– कोबाङमा बोक्सी खोला थुनिएको छ । हिमपहिरो आएर बोक्सी खोला थुनिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

शुक्रबार दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको र हिउँको थुप्रोले बोक्सी खोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोबाङका वडाध्यक्ष गौतम शेरचनले बताउनुभयो । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।
हिमपहिरोले खोला थुनिएसँगै कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ । यस्तै हिमपहिरोका कारण जोखिममा रहेका केही घरपरिवारलाई प्रशासनले सुरक्षित ठाउँमा सारेको छ । खोलाको छेउछाउ गाईवस्तु चराउन र घाँस काट्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन् ।

हिमपहिरो बस्तीमाथि आएर अड्किएको र तीन वटै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै जल तथा मौसम विभागले पनि अर्काे सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।