ताराखोलामा जंगलमा लागेको आगो बस्तीमा पस्दा २ घर र ५ गोठ जले

/ प्रकाशित मिति :
मंगलबार, चैत्र २७ २០८០

 

जगिन्द्र बिक
बागलुङ, २७ चैत्र – बागलुङको ताराखोला गाउँपालिका १ र २ नम्बरको सिमानामा ४ दिन अगाडिदेखि लागेको डढेलो बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको छ ।

गाउँपालिकाको १ र २ कोे सिमानामा ४ दिन अगाडि लागेको डढेलो गुराँसेको बस्तीमा पस्दा २ घरसहित ५ वटा गोठ जलेर नष्ट भएको वडाध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिनुभयो । जंगलको बीचमा रहेको बस्ती जोगाउन अग्नि रेखा बनाएपनि बस्ती जोगाउन नसकिएको उहाँले बताउनुभयो ।

स्थानीय नर बहादुर परियारको खरको घर र गोठ,हरिलाल परियारको खरको घर गोठ,अमृत परियारको २ वटा गोठ इश्वरा परियारको ढुङ्गाको घर र खरको गोठ, याम बहादुर परियारको खरको गोठ फुलकुमारी परियारको खरको घर र गोठ आगोले जलेर नष्ट भएको हो ।

यसैगरी ४ वटा बाख्रा, १ वटा बोका, १ पाठी, २ वटा भैसी, १ वटा राँगो समेत जलेर मरेको स्थानियले जानकारी दिएका छन् ।

४ दिन अगाडि लागेको डढेलो पूर्ण रुपमा नियन्त्रणमा नआउँदा वस्ती जोखिमै रहेको स्थानीयहरुले बताएका छन् । आगलागी हुँदा मानवीय क्षति भने भएको छैन् ।