गलकोट क्याम्पसको शैक्षिक महायज्ञमा ११ करोड ५० लाख संकलन

/ प्रकाशित मिति :
मंगलबार, फाल्गुन १५ २០८០

बागलुङ, १५ फागुन —बागलुङको गलकोट बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार निर्माणका आर्थिक संकलन गर्न गरिएको शैक्षिक ज्ञान महायज्ञमा साढे ११ करोड रकम संकलन भएको छ ।फागुन ६ गतेदेखि संचालन भई सम्पन्न भएको महायज्ञमा कुल ११ करोड ५० लाख रुपियाँ सहयोग सङ्कलन भएको महायज्ञ आर्थिक समितिका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

श्रीमद्भागवत भाष्कर गुरुदेव कमलनयन आचार्यले दैनिक रुपमा कथावाचन गर्नुभएको महायज्ञमा एक परिवारले एक करोड रुपियाँ सहयोग गरेका छन् । समुदायबाट चन्दा सहयोग जुटाएर सञ्चालन गरिएको क्याम्पसको थप पूर्वाधार विकास गर्न उक्त सहयोग प्राप्त भएको शर्माले बताउनुभयो ।

गलकोट नगरपालिका ३ हटियाबजारका श्रेष्ठ परिवारद्वारा एक करोड एक हजार एक सय ११ रुपियाँ सहयोग प्राप्त भएको क्याम्पस प्रमुख मुकुन्द्रसिँह भण्डारीले जानकारी दिनुभयो । स्वर्गिय बद्रीकुमार श्रेष्ठ, स्वर्गिय बेगमकुमारी श्रेष्ठको स्मृतिमा उहाँको परिवारले सहयोग गरेको उहाँले बताउनुभयो ।

स्मृतिमा निर्मला श्रेष्ठ तथा छोराबुहारीहरु मदनकुमार श्रेष्ठ, बन्दना श्रेष्ठ, पुष्पमान श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, विपिनकुमार श्रेष्ठ, रश्मी श्रेष्ठ, दिलिप श्रेष्ठ र सुष्मा श्रेष्ठको परिवारका तर्फबाट उक्त सहयोग रकम प्राप्त भएको क्याम्पसले जनाएको छ ।

सबैभन्दा धेरै रकम प्रदान गरेर क्याम्पसलाई सहयोग गर्ने श्रेष्ठ परिवारलाई बाजागाजा र भजनकिर्तन सहित ताम्दानीमा चढाएर स्थानीयहरुले गलकोट बजार परिक्रमा गराएर सम्मान गरेका थिए ।