म्याग्दीको रुममा करिब ५ केजी चरेस सहित चरेश वनाउन प्रयोग हुने मेसिन बरामत

/ प्रकाशित मिति :
शुक्रबार, फाल्गुन ११ २០८០

 

बागलुङ, ११ फागुन – म्याग्दीको मालिका गाउँपालिका–२,रूमबाट प्रहरीले चामलको खाली बोरामा चरेश बनाउने फगामको मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल र ठूलो परिमाणमा प्याकिङ गर्ने प्लाष्टिक झोला बरामत गरेको छ।

गएको फागुन ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारको कालिपुलबाट रूमका ३४ वर्षीय तिलक विकलाई ४ केजी ४५ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरी अनुसन्धानको क्रममा उनले घर नजिकैको सामुदायिक वनमा लुकाइ राखेको अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक कुमार गुरूङले बताउनुभयो ।

‘अभियुक्तसँग रहेको चरेस बनाउने सामानहरु बरामद भएको हो, थप अनुसन्धान भइरहेको छ,’ सूचना अधिकृत गुरुङले भने ।गाउँमै चरेस बनाएर सिधै ग्राहक र व्यापारीलाई पु¥याउने गरिएको समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीसहित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्त विकको घर तथा आसपासका क्षेत्रमा खानतलासी गरेको थियो । विकलाई जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । म्याग्दीमा भेटिएको चरेश अधिकांश पश्चिम म्याग्दी हुदै आउने गरेको छ ।

१० वर्षमा म्याग्दी प्रहरीले जिल्लाभित्र लागुपदार्थ र लागुऔषधको ओसारपोसारमा संलग्न ७८ जनालाई सामानसहित पक्राउ गरेको छ । केही वर्ष अगाडिसमेत रुमबाट बुटवलतर्फ लैजाने तयारीमा दरबाङबाट २३ केजी ५० ग्राम चरेससहित पक्राउ परेका तीन महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।

मालिका गाउँपालिकाको रूम क्षेत्रबाट चरेशसँगै पटकपटक पक्राउ पर्न थालेपछि स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा खोज र नष्टसहित सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

जिल्लामा लागुऔषध जिल्ला बाहिरबाट भित्रिन्छ भने गाँजा र चरेश बाहिर खपत हुने गरेको छ । म्याग्दीमा खेतबारीमा व्यावसायिक रुपमा गाँजा खेती नगरिए पनि प्रहरीको नियमित नजर नपुग्ने क्षेत्रमा विषादी तथा रासायनिक मलको प्रयोग नगरी गाईवस्तुको मूलपत्र र स्याउलाबाट बनेको कम्पोष्ट मल प्रयोगबाट उत्पादित चरेसको माग धेरै रहेको प्रहरीको हिरासतमा रहेका अभियुक्तहरूले बयान दिने गरेका छन् ।