बागलुङमा दुई चरणमा दादुरा र रुवेला खोप लगाइने

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, फाल्गुन ९ २០८០

बागलुङमा दुई चरणमा दादुरा र रुवेलाको खोप लगाइने भएको छ । निवारण भैसकेको दादुराको प्रकोप विभिन्न स्थानमा देखिएपछि पुनः खोप लगाउने कार्यक्रम संचालन गर्न लागिएको हो ।
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत दादुरा, रुवेला खोप अभियान २०८०/८१ नियमित खोप सुद्धिढिकरण सम्वन्धी जिल्ला खोप समन्वय समिति तथा सरोकारवाला र संचारकर्मीहरुको लागि मंगलवार गरिएको अभिमुखिकरण गोष्ठीमा बागलुङमा दुई चरणमा गरि दादुरा र रुवेला बिरुद्धको खोप लगाउन लागिएको जानकारी दिइएको थियो ।


बागलुङ जिल्लामा फागुन १३ गतेदेखि १६ गतेसम्म ६ वटा पालिका र फागुन २५ गतेदेखि चैत ४ गतेसम्म ४ वटा पालिकामा खोप लगाइने भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बावुराम आचार्यले जानकारी दिनुभयो ।
फागुन १३ गतेदेखि १६ गतेसम्म बागलुङ, गल्कोट, जैमिनी नगरपालिका, बरेङ, काँठेखोला र ताराखोला गाउँपालिका तथा फागुन २५ गतेदेखि चैत ४ गतेसम्म ढोरपाटन नगरपालिका, तमानखोला, निसीखोला र बडिगाडमा खोप कार्यक्रम संचालन गर्न लागिएको हो ।
जिल्लाभर संचालन हुने अभियानबाट २० हजार ४ सय २४ जना ९ महिनादेखि ५ बर्षमुनिका बालवालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिदै उहाँले २ सय ४४ जना स्वास्थ्यकर्मी, ४ सय ८८ जना स्वयमसेवक परिचालन र अनुगमन तथा सुपरिवेक्षण गरिने बताउनुभयो ।
जन्मेको ९ महिना पुग्दा लगाउने दादुरा खोपको कारण बालबालिकामा निवारण गर्न सकिनेमा विभिन्न कारणले आउने समस्याबाट दादुरा र रुवेला रोग देखिएको उहाँको भनाई थियो ।
नेपाल सरकारले आगामी २०२६ सम्ममा दादुरा रुवेला निवारणको लक्ष राखेको छ । त्यसका लागि कम्तिमा ९५ प्रतिशतमा खोप सेवा पुगेको, रोगको संख्या नभएको देखिनुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।