चैत्र २९ र ३० गते एमाले बागलुङको जिल्ला अधिवेसनको तयारीमा

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
मंगलबार, माघ ९ २០८០

नेकपा एमाले बागलुङले जिल्ला अधिवेसनको तयारी गरेको छ । जिल्ला कार्यसमितिको बैठकले चैत २९ र ३० गते जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो ।
सोमबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष हिराबहादुर केसीले अधिवेसनका लागि उपसमिति गठन गर्न पालिका स्तरीय बैठक गर्ने तथा अधिवेसन तयारीको तालिका समेत सार्वजनिक गर्नुभयो ।
दशौं जिल्ला अधिवेसनका लागि अध्यक्ष केसी संयोजक रहेको प्रतिवेदन लेखन समिति, उपाध्यक्ष लक्ष्मण पुन संयोजक रहेको जनपरिचालन, सचिव बिष्णु भुषाले संयोजक रहेको आर्थिक व्यवस्थापन, उपसचिव गणेशबहादुर थापा मगर संयोजक रहेको प्रतिनिधि व्यवस्थापन गठन गरिएको छ ।
यस्तै, अमरबहादुर थापा संयोजक रहेको प्रचारप्रसार, रुद्र महत संयोजक रहेको खाद्य तथा आवास, बाबुलाल शाक्य रहेको हल, मञ्च व्यवस्थापन, सम्पन्न श्रेष्ठ संयोजक रहेको स्वयंसेवक, हुमा खड्का रहेको अतिथि सत्कार, सरस्वती खड्का परियार रहेको साँस्कृतिक समिति गठन गरिएको छ ।
यसैगरी, माघ १० गते बागलुङ नगर स्तरीय बैठक, ११ गते जैमिनी, १३ गते काठेखोला, १४ गते बरेङ, १५ गते निसीखोला, १६ गते ढोरपाटनका बैठक हुनेछन् । त्यस्तै १७ गते तमानखोला, १८ गते बडिगाड, १९ गते गलकोट र २० गते ताराखोलामा बैठक हुने सचिव भुषालले जानकारी दिनुभयो ।
एमाले जिल्ला कमिटिको लेखा परीक्षणका लागि सूर्यप्रसाद उपाध्याय नियुक्त गर्ने, अधिवेसन सम्पन्न गर्न प्रतिनिधिबाट १ हजार ५ सय र सदस्यबाट १ सय आर्थिक दायित्व निर्धारण गर्ने निर्णय गरिएको छ । जिल्ला अधिवेसनपछि मात्रै पालिका र वडा स्तरीय अधिवेसन हुने बताइएको छ ।