सहकारीमा बदमासी गर्नेहरुलाई कार्वाहीको दायरा ल्याउनु पर्छः कृष्ण पाठक

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
आइतबार, माघ ७ २០८០

ईमेज बचत तथा ऋण सहकारी संस्थाले विशेष साधारणसभाले इमेज सहकारीको सम्पत्ती र दायित्वको एकीन गरि पीडित बचतकर्ताहरुको रकम फिर्ताका लागि पहल गर्ने निर्णय गरेको छ ।

सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले सहकारीको भावना विपरित काम गर्ने केही सहकारी सञ्चालकहरुको बदमासीलाई देखाएर सिंगो सहकारी अभियानलाई कमजोर बनाउने काम भएको बताए । सहकारीमा बदमासी गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन र राम्रो गरेकाहरुलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जीत शेरचनले सहकारी अभियानमा देखिएको समस्या समाधानमा राज्यकै भूमिका कमजोर देखिएको बताउदै सजिलो पर्दा अगाडि आउने र समस्या पर्दा सहजीकरण गर्न नसक्ने अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिए ।

बागलुङ नगरपालिकका प्रमुख बसन्त कुमार श्रेष्ठले प्रदेश सरकार र संघीय सरकारले अनुमति दिएका सहकारीहरुका कारण बागलुङका अन्य सहकारीहरुलाई समेत समस्या सिर्जना भएको बताए ।

प्रदेश र संघबाट अनुमति लिएका दुईवटा सहकारीमा आएको समस्याका कारण बागलुङका अन्य सहकारी र व्यवसायीहरुलाई समेत समस्या भएको भन्दै श्रेष्ठले समस्या आएका सहकारीहरुका पीडितहरुलाई न्याय दिनका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, नेफ्स्कुनका पूर्वकोषाध्यक्ष तथा अधिवक्ता नानीबाबु बुढाथोकी, बागलुङ नगरपालिका वडा नं। २ का वडा अध्यक्ष सुरज बोसेल, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, इमेज पीडित वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्की, गलकोटका संयोजक मञ्जु शर्मा चालिसे, बुर्तिबाङका संयोजक याम बहादुर कुँवर लगायतले मन्तव्य व्यक्त गरे ।

साधारण सभा संस्थाका शेयर सदस्य बाल कुमारी केसीको अध्यक्षता, संघर्ष समितिका सदस्य शेखर खड्काको स्वागत र संघर्ष समितिका सचिव याम बहादुर पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

इमेज सहकारीका मुख्य जिम्मेवार व्यक्ति देवकुमार नेपाली फरार भएपछि बन्द रहेको संस्थालाई सुचारु गर्ने लक्ष्यका साथ विशेष सधारण सभा आयोजना गरिएको इमेज पीडित वचत पीडित संघर्ष समिति बागलुङका संयोजक डिल बहादुर कार्कीले बताए ।

इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले सहकारीको डेढ अर्ब भन्दा बढी रकम हिनामिना गरी गत जेठ ५ गतेदेखि सपरिवार बुर्तिबाङ बजारबाट बेपत्ता भएका छन् ।

इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर नेपाली, सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान, कर्मचारी लालमती रोका र अनीता बुढा हाल जिल्ला कारागारमा छन् ।

फोटोहरु हेर्नुहोस्ः