व्यापार बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभा सम्पन्न

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, पुष २८ २០८០

बागलुङ, २८ पुष – व्यापार बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको ११ औ साधारण सभा शनिबार सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेलले सहकारी सघंसंस्था उत्पादन संग जोडिनुपर्ने बताउनुभयो । आर्थिक मन्दिको चपेटामा यहाँका उद्योगी व्यावसायी पनि पर्दै गएको चर्चा गर्दै उहाँले सहकारीहरु बैकिङ्ग कारोबार तथा कर निति सम्बन्धी स्पष्ट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । कँडेलले सहकारी सघंसंस्थाले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा जिल्ला बचत तथा ऋण सहकारी सघंका सचिव ऋषिराम गौतम, व्यापार बचत तथा ऋण सहकारी संस्थाका जेष्ठ शेयर सदस्य कृष्णशंकर श्रेष्ठ र पत्रकार कोपीला कँडेल लगायले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारण सभामा संस्थाका सचिव गोकुलप्रसाद कँडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रविन्द्रकुमार श्रेष्ठले आर्थिक प्रतिबेदन र लेखा सुपरिबेक्षण समितिका संयोजक घनश्याम शर्माले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभाका अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य कृष्णशंकर श्रेष्ठ, लाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कारोबारी ईन्द्रमणी पौडेल ,मंगल सुबेदी,जमुना सापकोटा कँडेल र रबिन्द्र श्रेष्ठ,असल ऋणी मनोज कुमार शाह, नियमित चल्ती बचतकर्ता उपेन्द्र शाह बानिया, नियमित अवधी बचतकर्ता शंकर प्रसाद शर्मा लगायत लाई प्रशंसा पत्र र उपहार सहित सम्मान गरिएको थियो । कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने निष्कर्ष श्रेष्ठ र शाया श्रेष्ठ लाई उपहार र प्रशंसा पत्र सहित पुरस्कृत गरिएको संस्थाका सचिव गोकुल प्रसाद कँडेलले जानकारी दिनुभयो ।

संस्थाले चालु आर्थिक बर्षको असार मसान्त सम्म १७ करोड ७६ लाख ५४ हजार २ सय ११ रुपयाँको कारोबार गरेको कोषाध्यक्ष रबिन्द्र कुमार श्रेष्ठद्धारा प्रस्तुत प्रतिबेदनमा उल्लेख छ । १ सय ६३ जना शेयर सदस्य रहेको संस्थाको कुल शेयर पुँजी ५२ लाख ६७ हजार २ सय रहेको छ भने कर्जा लगानी १ करोड ४९ लाख २३ हजार रहेको छ । त्यस्तै कुल आम्दानी १५ लाख ५ सय ६१ रहेको संस्थाले जनाएको छ ।

कार्यक्रम व्यापार बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ईन्द्रमणी पौडेलको अध्यक्षता, उपाध्यक्ष बिमल श्रेष्ठको स्वागत मन्तव्य र सचिव गोकुलप्रसाद कँडेलको संचालनमा सम्पन्न भएको थियो ।