म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित

/ प्रकाशित मिति :
मंगलबार, असोज ३០ २០८០

बागलुङ, ३० असोज – जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी प्रमुख बन्नुभएको छ । ६८ औं प्रहरी दिवसको अवसरमा कुँवरसहित अघिल्लो वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरीहरूलाई सम्मान गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले अनुसन्धानतर्फ सर्वोत्कृष्ट प्रहरीमा प्रदेश प्रहरी तालिम केन्द्रका वरिष्ठ नायव निरीक्षक रामबहादुर क्षेत्री सम्मानित हुनुभएको छ । उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र बहादुर दरै, सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धि तर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित हुनुभयो ।

उत्कृष्ट सवारी चालक तर्फ प्रदेश प्रहरी कार्यालयका सहायक निरीक्षक जगेन्द्र गाहा, योगेन्द्र स्मृति साहसिक पुरस्कार इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका जवान कुमार फाल मगर बाह्य प्रशिक्षण उत्कृष्ट पुरस्कार प्रदेश प्रहरी तालिम केन्द्र पोखराका जवान किरण थापाले पाउनुभयो ।

पोखरामा आयोजित कार्यक्रमबीच प्रहरीको सेवा प्रवाहमा सहयोग गर्ने विभिन्न सङ्घ, संस्था र व्यक्तिहरूलाई पनि सम्मानित गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाउन सघाउने स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र बागलुङको बडिगाढ गाउँपालिका सम्मानित भएका छन् । पोखरा १५ का समाजसेवी प्रेम बहादुर थापा र मुस्ताङको अवरुद्ध सडक खुलाउन दिनरात खटिने समाजसेवी दानाका सुपरभाइजर इन्द्रसिं शेरचनलाई सम्मान गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र बगरका रामप्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानीका मिरा आचार्य, बगरका पूर्वअध्यक्ष मनपति भण्डारी र लेखनाथका संस्थापक अध्यक्ष मोती गिरीलाई नागरिक स्तरमा प्रहरीको सेवा विस्तारमा सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा ८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीहरू पनि सम्मानित भएका छन् । सबैलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्रले सम्मान गर्नुभएको हो । पाण्डेले जनताको सुरक्षाका लागि प्रहरीको योगदान उल्लेख्य रहेको बताउनुभयो ।