गण्डकीमा डेङ्गु संक्रमण बढ्यो, सातहजार ४ सय ८९ संक्रमित

/ प्रकाशित मिति :
बिहिबार, असोज २५ २០८០

बागलुङ, २५ असोज – गण्डकी प्रदेशमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुुसार प्रदेशभर ७ हजार ४ सय ८९ संक्रमित भएका छन् ।

केही दिनयता पोखराका अस्पतालमा डेंगु भएर उपचारका लागि आउनेको संख्या दैनिक बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खिम खड्काले जानकारी दिनुभयो  । ‘प्रदेशभर नै त्यस्तो भयावहको अवस्था छैन । तर, पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ,’ उहाँले भन्नुभयो ।

प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ, बागलुङ र कास्कीमा डेंगु संक्रमणदर उच्च रहेको निर्देशक डा खड्काले बताउनुभयो । मुस्ताङबाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ । डेंगु परीक्षणका लागि आवश्यकताअनुसार किट सप्लाइ तथा उपचार गराइरहेको डा खड्काले जानकारी दिनुभयो।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार हालसम्म १ हजार ४ सय ८१ मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेंगुका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए । ‘अहिले दैनिक डेंगु सङ्क्रमितको संख्या बढिरहेको छ ।

संक्रमितमा उच्च ज्वरो आउने, मांशपेसी दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले संक्रमणबाट बँच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताउनुभयो ।

वर्षातको समयमा पानी जम्ने भएकाले डेंगुको संक्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् । पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख फुलदेव तिमिल्सिनाले डेंगु नियन्त्रणका लागि वडावडामा कार्यक्रम गरिएको बताउनुभयो ।