बागलुङ नगरको स्वास्थ्यका बिभिन्न कार्यक्रमको बार्षिक समिक्षा

/ प्रकाशित मिति :
सोमबार, भाद्र १८ २០८០

नारायण रिजाल
बागलुङ भदौ १८ – बागलुङ नगरपालिका कार्यालयले स्वास्थ्यका विभिन्न कार्यक्रमको बार्षिक समिक्षा गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार देखी बार्षिक समिक्षा सुरु गरेको हो ।

समिक्षा कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशिल क्षेत्र भएको हुदा सवै स्वास्थ्यकर्मीहरु संवेदनशिल भएर सेवा प्रवाहमा जुटुनुपर्ने बताउनुभयो ।

उहाँले आम नागरिकको स्वास्थ्यप्रति नगरपालिका उत्तरदायी रहेको हुँदा हरेक स्वास्थ्य संस्थामा निःशुल्क रुपमा पाईने औषधीको अभाव खड्किन नदिने बताउनुभयो ।

श्रेष्ठले विगतका काम कारबाहीको समिक्षा गरी आगामी दिनमा स्वास्थ्यका हरेक सुचकहरुमा नगरपालिकालाई पहिलो नम्बरमा ल्याउनका निम्ती सवैले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

बागलुङ नगरपालिकालाई स्वास्थ्यमा मात्र नभएर अन्य क्षेत्रमा पनि अब्बल नगरपालिकाको रुपमा स्थापित गर्नुपर्दछ, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ‘‘नगरपालिकाले स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको छ । जनस्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउनका निम्ती महत्वपुर्ण भुमिका नै स्वास्थ्यकर्मीको हुन्छ ।’ उहाँले स्वास्थ्यकर्मिको प्रोत्साहन र हौसलाका कार्यक्रम पनि शाखाबाट संचालन हुने बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले आम नागरिकको स्वास्थ्य सेवाको पहिलो विन्दु भनेकै स्वास्थ्य गाउँगाउँमा रहेका स्वास्थ्य संस्था भएका कारण यहाँबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

नगरपालिकाका अधिकृत आठौं युक्तप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल र संचालन जनस्वास्थ्य निरिक्षक लक्ष्मण ढकालले गर्नुभएको थियो ।
समिक्षामा नगरभित्रका सवै स्वास्थ्य संस्था र विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाको बार्षिक प्रगति प्रतिवेदनमाथि छलफल गरि चालु आर्थिक वर्षको योजना समेत निर्माण गरिनेछ ।