बालबिकास केन्द्रका बालबालिकाको निशुल्क आँखा परिक्षण

/ प्रकाशित मिति :
बुधबार, भाद्र १३ २០८០

 

बागलुङ, १२ भदौ – बिद्यामन्दिर पुस्तकालय बागलुङले बालविकास केन्द्रका बालबालिकाको आँखा परिक्षण तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

५ दिवसिय कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन शुरु गरेको पुस्तकालयले मंगलबार पुस्तकालय अन्र्तगतका ३० जना बालबालिकाको आँखा परिक्षण गरेको बालविकास केन्द्रका सहजकर्ता उमा क्षेत्रीले जानकारी दिनुभयो ।

बालबालिकाको आँखा परिक्षण सफल आँखा क्लीनिक तथा चस्मा घरका संचालक तथा नेत्र सहायक गणेस महतोले गर्नुभएको थियो । परिक्षण गरिएका मध्य १ जनालाई समस्या देखिएकोले अन्यत्र रिफर गरिएको महतोले बताउनुभयो ।

बालबालिकालाई पुस्तकालयका पुर्व अध्यक्ष श्याम श्रेष्ठले स्थापना गर्नु भएको सिशिर हेमन्त स्मृति कोषबाट बिभिन्न सामाग्री वितरण गरिएको पुस्तकालयले जनाएको छ । पुस्तकालयले बुधबार सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श गर्ने जनाएको छ ।

बिहिबार लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने र १५ गते पुरस्कार वितरण सहित मूल समारोह आयोजना गरिने पुस्तकालयका सदस्य गोविन्द ओझाले जानकारी दिनुभयो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता र उपाध्यक्ष रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।