बिद्यामन्दिर पुस्तकालयद्धारा पुस्तकालय दिवश मनाउन शुरु

/ प्रकाशित मिति :
सोमबार, भाद्र ११ २០८០

बागलुङ, ११ भदौ – ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नारा सहित बिद्यामन्दिर पुस्तकालय बागलुङले सोमबार देखी पुस्तकालय दिवश मनाउन शुरु गरेको छ ।

दिवशको पहिलो दिन पुस्तकालयका पदाधीकारी सदस्य तथा पुस्तकालय प्रेमीहरुको सहभागितामा पुस्तकालय परिसर सरसफाइ गरिएको छ ।

मंगलबार ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ शीर्षकमा बागलुङ नगरपालिकास्थित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र पुस्तकालयको बाल कक्षमा अध्ययनरत बालबालिकाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्री वितरण गरिने पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

५ दिवसिय कार्यक्रम सहित पुस्तकालय दिवस मनाउन शुरु गरेको पुस्तकालयले १३ गते सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श कार्यक्रम, १४ गते लागूऔषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने र १५ गते पुरस्कार वितरणसहित मूल समारोह आयोजना गरिने पुस्तकालयका अध्यक्ष थापाले बताउनुभयो ।