मुस्ताङमा बाढीले एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति

/ प्रकाशित मिति :
सोमबार, भाद्र ११ २០८០

बागलुङ, ११ भदौ – मुस्ताङको कागखोलामा आएको बाढीले एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पु¥याएको छ ।

बाढीले कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा क्षति पु¥याएको हो । गाउँपालिकाको कृषि शाखाको तथ्याङ्कानुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पातीका बोटमा क्षति पुगेको छ ।

बाढीले कृषकको ११ रोपनी तीन कठ्ठा बढीमा लगाइएको स्याउलगायतका फलफूलमा क्षति पु¥याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिनुभयो । उहाँका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउ बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको मात्र ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उहाँको भनाइ थियो ।
बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुङ्गा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको छ । कागखोलामा आएको बाढीले मानवीय क्षति नभएपनि सयौँ स्थानीय आफन्तको आश्रय लिएर बस्न बाध्य भएका छन् । करोडौँको भौतिक संरचनामा क्षति पु¥याएको छ ।

व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम पनि नभएको बताइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कानुसार बाढीले कागबेनीमा करिब एक अर्बको क्षति पु¥याएकोे छ ।