राजमोको जिम्मेवारी हेरफेर, अध्यक्षमा तेज बहादुर थापा

/ प्रकाशित मिति :
शुक्रबार, भाद्र ८ २០८០

बागलुङ, ८ भदौ – राष्ट्रिय जनमोर्चा बागलुङले नेतृत्वमा जिम्मेवारी हेरफेर गरेको छ । गत फागुन १९, २० र २१ गते बागलुङमा सम्पन्न सम्मेलनबाट अध्यक्षमा चयन हुनुभएका जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजिनामा दिएपछि जनमोर्चाको बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

अध्यक्ष ढुङ्गानाले पारिवारीक अवस्था, अन्य जिम्मेवारी र कार्यव्यस्तताका कारण देखाउँदै राजिनामा दिएपछि उहाँको राजिनामा स्विकृत गर्दै बैठकले जिल्ला सदस्य तिलक थापालाई अध्यक्षमा चयन गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । बैठकले ढुङ्गानालाई जिल्ला सल्लाहकारमा चयन गरेको छ ।

बैठकले जिल्लामा बिकास निर्माणमा भएको ढिलासुस्ती, निर्माण कम्पनीको लापरवाहि, अनियमितता, भ्रष्टाचार, कालावजारी, बित्तिय अराजकता, जनताको दैनिक उपभोग्य बस्तु माथिको अनियन्त्रित, महंगी, यातायात क्षेत्रको भाडादरमा देखिएको मनोमानी लगाएतका बिषयमा समिक्षा गर्दै सम्वन्धित निकायमा ध्यानाकषर्ण गराउने निर्णय गरेको छ ।

बैठकले गरेका निर्णय जानकारी गराउँदै अध्यक्ष थापाले २०८० साल भरि पार्टीले संचालन गरेको ऐतिहासिक तीन अभियान कार्यक्रम अन्तरगत भदौ महिनामा सवै जनवर्गिय संगठनको जिल्ला स्तरीय सम्मेलन, भेला, बैठक, र जनप्रतिनिधीहरुको कार्यशाला गर्ने, भदौ मसान्त भित्र नै पालिका तथा वडा तहको बैठकका लागि जिम्मेवारी तोक्ने निर्णय भएको बताउनुभयो ।

त्यसैगरि असोज ५ गतेदेखि २७ गतेसम्म जिल्लाका ८५ वटै वडामा बिशेष संगठनात्मक अभियान संचालन गर्ने, दशै तिहारको सन्दर्भमा सवै वडा तहमा बर्तमान राजनैतिक परिस्थिती र यसको प्रभाव, बैदेशिक हस्तक्षेप लगाएत जनजिविकाको सवालमा छलफल, अन्तरक्रिया सहित शुभकामना आदानप्रदान गर्ने निर्णय पनि भएको थापाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा जनमोर्चाका पूर्व जिल्ला अध्यक्ष अमरबहादुर थापा र राजेन्द्र ढुङ्गानाले मंतव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव भिमलाल पोखरेलले गर्नु भएको थियो ।