मुस्ताङको कागबेनीमा बाढीले एक अर्ब बराबरको क्षति

/ प्रकाशित मिति :
बिहिबार, भाद्र ७ २០८០

बागलुङ, ७ भदौ – मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पु¥याएको विवरण सार्वजनिक गरिएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पु¥याएको थियो । गाउँपालिकाले बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा क्षतिको विवरण संकलन गरिएको पालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, सरकारी कार्यालय र संघ÷ संस्था गरी उक्त क्षतिको विवरण तयार पारिएको छ ।

सरकारी निकाय र स्थानीयबासीको सक्रियतामा अहिले कागबेनी पुननिर्माण अभियान संचालन गरिएको उहाँले जानकारी दिनुभयो । नगद सामान र संरचनाहरुमा मात्र ८१ करोड ८३ लाख २५ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, वडा, प्रहरी चौकीको भवन, तटबन्धन लगायत १४ वटा गरी भौतिक पूर्वाधार तर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण संकलन भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

व्यक्तिका पचास वटा घरमा ५२ करोड ८९ लाख ७५ हजार मुल्य बराबरको क्षति भएको पालिकाले जनाएको छ । २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक क्षति पुगेको छ । नौ वटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको छ । बाढीले बगाउदा २४ वटा गाई र एक वटा घोडा मरेका छन् । १९ वटा दुई पाङ्ग्रे र तीनवटा चार पाङ्ग्रे सवारी साधन क्षति भएको छ ।

१९ जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको तीन करोड नौ लाख मुल्य बराबरको सामग्री बाढीले बगाएको छ । १२ वटा सरकारी तथा सामुदायिक संरचनामा चार करोड ८० लाख साठी हजार बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ ।

१८ जना कृषकको ४५ रोपनी भन्दा बढी जग्गा बाढीले पुरेको छ । दुई सय ७४ वटा स्याउका बोट बाढीले नष्ट गरेको छ ।