बागलुङमा अनुदानको मलको मुल्य सूचि पसल पसलमा टासियो

/ प्रकाशित मिति :
सोमबार, साउन २२ २០८០

बागलुङ, २२ साउन – बागलुङ नगरपालिकाले अनुदानको मल विक्रीका लागि नगर क्षेत्रमा मूल्य सूचि निर्धारण गरेपछी त्यसको कार्यान्वयनका लागि सम्पूर्ण विक्रेताहरुमा अनुरोध गरेको छ ।

कृषकका लागि सरकारले अनुदानका लागि उपलब्ध गराएको मल बितरणका लागि गठित स्थानीय समितिका संयोजक एवं नगर उप प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले सहकारी तथा एग्रोभेटहरुलाई मल विक्री गर्दा लगाइने मूल्य सूची निर्धारण गरेको थियो ।

समितिले तोकेको मूल्य सूचि सम्पूर्ण विक्रेताहरुको पसलहरुमा उपभोक्ताहरुले देख्ने गरी टांस गरिएको र तोकिएको मूल्य सुचि अनुसारको विक्री बितरण भए नभएको नियमित अनुगमन गरिने नगर उप प्रमुख राजु खड्काले बताउनुभयो ।

विक्रेताहरुको पसलमा मुल्य सूचि विवरणको फ्लेक्स नगर प्रमुख, उप–प्रमुखसहित साल्ट ट्निङ, उपभोक्ता मन्च, कृषि ज्ञान कार्यालय, कृषि शाखा लगायत कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको सहभागितामा बितरण गरिएको उहाँको भनाई थियो ।

स्थानिय समितिले बानपा १, २ र ३ मा युरिया २० रुपैया ५८ पैसा र बोराको १ हजार २९ रुपैया तथा १२ र १३ मा २२ रुपैया २ पैसा तथा बोराको १ हजार १ सय १ रुपैया निर्धारण गरेको छ ।

डिएपि मलको बानपा १, २ र ३ मा ४९ रुपैया ५८ पैसा तथा बोराको २ हजार ४ सय ७९ रुपैया निर्धारण गरेकोे छ । बानपा १२ र १३ मा ५१ रुपैया २ पैसा तथा बोराको २ हजार ५ सय ५१ रुपैया निर्धारण गरेको छ ।

यसैगरी पोटास बानपा १, २ र ३ मा ३७ रुपैया ५८ पैसा तथा बोराको १ हजार ८ सय ७९ निर्धारण गरेको छ । बानपा १२ र १३ मा ३९ रुपैया २ पैसा तथा बोराको १ हजार ९ सय ५१ रुपैया निर्धारण गरिएको छ ।