पहिरोले अवरुद्ध  बाग्लुङको सालझण्डी–ढोरपाटन सडक खण्ड संचालनमा

/ प्रकाशित मिति :
शुक्रबार, साउन १९ २០८០

बागलुङ, १९ साउन – पहिरोका कारण अवरुद्ध भएको बाग्लुङको सालझण्डी–ढोरपाटन सडक खण्ड २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीवार हिजो दिउँसोदेखि अवरुद्ध भएको यो सडक खण्ड २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपमेयर धनबहादुर कायत (कल्याण) ले जानकारी दिनुभयो ।

राष्ट्रिय प्राथमिकताको आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडक खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमानामा पर्ने दोगाडी पुलमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि ढोरपाटन, बोबाङ, फल्लेघरलगायतका ठाउँबाट बुर्तिबाङ, पोखरा काठमाण्डौ, बुटवल जाने गाडी बीच बाटोमा रोकिएका थिए ।

सडक सञ्चालनमा आएसँगै बाटोमा रोकिएका सबै गाडी गन्तव्यतिर लागेका कायतले बताउनुभयो । बिहीवार नै सडक खुलाउने प्रयास गरे पनि अविरल वर्षासँगै आएको ठूलो पहिरोका कारण खुलाउन नसकिएको उहाँले बताउनु भयो ।

आज बिहानैदेखि डोजर लगाएर सडक खुलाउने प्रयास गरिएको भन्दै दिउँसोदेखि नियमित सञ्चालन भइरहेको उहाँले बताउनु भयो । ’हिजो वर्षाले गर्दा खुलाउन सकिएन, पहिरो पनि निकै ठूलो खसेको थियो, आज पनि बिहानैदेखि डोजर लगाएर काम ग¥यौँ, अहिले सडक खुलेको छ’, उहाँले भन्नुभयो, ’अहिले बाटो खुलेर गाडी सञ्चालन भइरहेका छन् ।’