भ्रष्टाचारका बिषयमा बिनाप्रमाण नाम उल्लेख नगर्नुहोस – महेश बस्नेत

/ प्रकाशित मिति :
सोमबार, साउन ८ २០८០

बागलुङ, ८ साउन – नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले स्थिर सरकार बिना विकास संभव नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल बागलुङले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यूवा इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले देशमा गिरीजा प्रसाद कोइराला र केपी ओलीको सरकार मात्रै अहिले सम्म लामो समय टिकेको स्मरण गर्दै स्थिर सरकार भएमा मात्रै विकास हुने बताउनुभयो ।

नेता बस्नेतले अहिलेको सरकारले भष्ट्रचार विरुद्धको अभियानमा एमालेको साथ रहेपनि असली भष्ट्रचारीलाई कानूनी दायरामा ल्याउने र बिना प्रमाण कसैको नाम उल्लेख नगर्न आग्रह गर्नुभयो ।

“भष्ट्रचारीहरु सबैलाई कानूनी दायरामा ल्याउन आवश्यक छ, अहिलेको सरकारले खुट्टा नकमाओस भन्ने हो” नेता बस्नेतले भन्नुभयो “विमानस्थलबाट १५५ केजी सुन बाहिर आउनु भनेको विमानस्थलको अवस्थाको विषयमा छर्लङ्ग हुनु हो ।”

नेता बस्नेतले पत्रकारहरुको जवाफमा एमाले विरुद्धको चौतर्फी घेराबन्दी तोडेर मिसन २०८४ अभियान चलाइरहेको जानकारी दिनुभयो ।

उहाँले एमाले विरुद्धका भ्रमहरु चिर्न युवासंघका नेताहरु गाउँ–गाउँमा पुगिरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड अस्थिरताको नमुना रहेको जिकिर गर्दै नेता बस्नेतले जनतालाई भ्रम सृजना गर्नुबाहेक अहिलेको सरकारले त्यस्तो कुनै स्मरणयोग्य काम नगरेको टिप्पणी गर्नुभयो ।
कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष सृजना पन्तको अध्यक्षता, उपाध्यक्ष सुवास गौतमको स्वागत मन्तव्य र सचिव अर्जुन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।