लम्पी स्किनको औषधि र खोप बागलुङका सबै पालिकामा पठाईयो

/ प्रकाशित मिति :
बुधबार, साउन ३ २០८០

 

बागलुङ, ३ साउन लम्पी स्किन नामक रोगबाट पशुहरु लाई बचाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङले सबै पालिकामा खोप पठाएको छ ।

केन्द्रको तथ्यांक अनुसार २ हजार ९ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिक मार्फत खोप र औषधि पठाइएको केन्द्रका प्रमुख तथा बरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताउनुभयो ।

केन्द्रले बागलुङ नगरपालिकाका लागि ५ सय पशुका लागि खोप पठाएको छ । केन्द्र प्रमुख सापकोटाले पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा बोल्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्युनिकरणमा लाग्न सबैलाई आग्रह गर्नुभयो । श्रेष्ठले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रशंसा पनि गर्नुभएको थियो ।

लम्पि स्किन रोगबाट बागलुङका १ सय ६६ गाईगोरु मरेका छन् । लम्पी स्किन रोग लागेका गाइगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्री भन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो । एक÷दुइवटा गाईगोरु पालेका किसान भन्दा व्यवसायिक गाई फर्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन् ।

बिरामी पर्ने तथा मर्नेमा पनि अधिकांस उन्नत जातको गाई रहेका छन् । बैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलो पटक संक्रमण देखिएको थियो । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौं क्षति व्यहोरेका छन् ।

अहिले पनि ढोरपाटनका १ हजार २ सय, निसीखोलाका ५ सय १३, गलकोटका १ सय ४२, बडिगाडका १ सय ८१ र तमानखोलाका १ सय ८९ र बागलुङ नगरपालिकामा पनि २ सय २१ गाई बिरामी छन् । भेटेनरी अस्पतालले ४ हजार ५ सय डोज खोप पालिका तहमा पठाएको हो । सबैभन्दा धेरै संक्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिनुभयो ।