चर्को खडेरीले म्याग्दीमा दर्जन बढि पानिका मुहान सुक्न थाले

/ प्रकाशित मिति :
बिहिबार, जेष्ठ ३२ २០८០

बागलुङ, ३२ जेष्ठ – चर्को खडेरीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घण्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् ।

पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन् तर धारामा प्रायः पानी खस्दैन । लगातारको खडेरी, जलवायु परिवर्तन, वनजङ्गल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला र मूलमा पानी सुकेर सुख्खा बनेका छन् ।

पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौँदेखि खानेपानी उपभोगका लागि समस्या नभएका स्थानीयमा अहिले पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कँदै गएको बताउँछन् ।

वर्षात्मा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्थामा पुगेका बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटाले बताउनुभयो ।

बेनपा–६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । पानीका लागि स्थानीय घन्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय समस्यामा परेका हुन् ।