फुलमायाका हत्यारा लाई जन्मकैदको फैसला

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ ३१ २០८០

 

बागलुङ ३१ जेष्ठ – महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ।

बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहना समेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो।

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिनुभयो ।

२०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फुलमाया साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेजलाई आधार मान्दा शंकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या गरे पनि हत्यापछि करणीसमेत गरेको स्वीकार गरेका थिए।

प्रहरीले २०७९ साल कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो।