ईमेजका सहकारीका अध्यक्ष नेपाली बिरुद्ध ७ सय ६८ वटा उजुरी

/ प्रकाशित मिति :
मंगलबार, जेष्ठ ३០ २០८០

बागलुङ, ३० जेष्ठ – इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीविरुद्ध अहिलेसम्म सात सय ६८ वटा उजुरी परेका छन् ।
ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपाली जेठ ५ गतेदेखि सम्पर्कमा छैनन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गएको वैशाख ९ गते गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । अहिलेसम्म उनीहरू बेपत्ता छन् ।

सोमवार बेलुकासम्म सात सय ६८ जनाले रकम मागदाबीसहित उजुरी गरेको र अझै चार हजारभन्दा बढी सङ्ख्यामा बचतकर्ताको उजुरी आउनसक्ने अनुमान गरिएको बागलुङका प्रहरी नायब उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले खोजी गरिरहेको छ, तर कोही भेटिएका छैनन्’, डीएसपी केसीले भन्नुभयोे, ‘उजुरी गर्नेहरू राति ८ बजेसम्म लाइनमा हुन्छन्, केही दिन भयो हाम्रो कार्यालय भिडले भरिएको छ ।’

बचतकर्ताको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप नेपालीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेठ १६ गते उनीसहित पदाधिकारीले बचतकर्ताको अर्बाैँ रकम अपचलन गरी सङ्गठित ठगी गरेकाले उनीहरूविरुद्व उजुरी लिन पत्राचार गरेको थियो ।

बाग्लुङमा मात्र दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । पोखराको सिर्जनाचोकमा रहेको सहकारीका बचतकर्ता पोखरा महानगरको सहकारी महाशाखा र जिल्ला प्रहरी कार्यालयमा धाइरहेका छन् ।

बाग्लुङ र पोखरा दुवै ठाउँका बचतकर्ताले सङ्घर्ष समिति नै बनाएर धर्ना तथा दबाब कार्यक्रम गरिरहेका छन् ।