मुस्ताङको जोमसोम बजारमा अत्याधुनिक सीसीटीभी जडान

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ २४ २០८០

 

बागलुङ, २४ जेष्ठ– धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको जोमसोम बजारक्षेत्रमा अत्याधुनिक सीसीटीभी जडान गरिएको छ। घरपझोङ गाउँपालिकाले मुस्ताङको मुटु जोमसोम बजारक्षेत्रमा पर्यटक तथा सर्वसाधारण र व्यवसायीहरूको शान्ति सुरक्षा कायम गर्न, सम्भावित अपराध रोकथाम तथा न्यूनीकरण ,सवारी दुर्घटना,अवान्छित गतिविधि र जोमसोम बजार क्षेत्रलाई प्रदुषण मुक्त राख्न १२ थान सीसीटीभी जडान गरेको हो।

गाउँपालिकाले वार्षिक कार्ययोजनाअन्तर्गत पालिका – ३ को पुथाङ एअरपोर्टदेखि वडा–४ जोमसोम क्षेत्रको विभिन्न सडक मार्ग तथा वस्तीहरूमा सीसीटीभी जडान गर्न ९ लाख ८० हजार रुपैया विनियोजन गरेको थियो। जडानका लागि स्काई लिंक टेक्नोलोजीसँग ठेक्का सम्झौता गरेको थियो।

जोमसोम बजार क्षेत्रमा सीसीटीभी जडान गर्न ५ महिना समय खर्चिएर कम्पनीले सर्वे अध्ययन पूरा गरेको थियो। कम्पनीले सर्वेपछिको एक महिना लगाएर जोमसोम र पुथाङ एअरपोर्ट क्षेत्रमा सीसीटीभीसहित आवश्यक उपकरण जडान गरिसकेको छ।

पछिल्लो समय सडक यातायातको सहजतासँगै मुस्ताङमा बर्सेनि ५ लाखभन्दा बढी आन्तरिक पर्यटक र वर्षेनि ६० हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ भित्रिने भएकाले पनि सम्भावित अपराध र चोरी शिकारीका घटना घट्न नदिन सीसीटीभी जडान गरिएको बताइएको छ। यसका अतिरिक्त विभिन्न जिल्लाका मानिसहरू रोजगारी र ज्यालामजदुरी गर्न मुस्ताङ आउने भएकाले मुस्ताङ जिल्ला मिश्रित वस्तीका रूपमा रुपान्तरित हुँदैछ।

सडक मार्गबाट आउने पर्यटक तथा व्यवसायीहरूले जथाभाबी जहाँपायो त्यही फोहोर मिल्काइदिने हुनााले पनि यी सबैको निगरानी गर्न सीसीटीभी जडान गर्नु परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । घरपझोङ गाउँपालिकाको आर्थिक सहयोगमा जडान गरिएको सीसीटीभीको कन्ट्रोल रुमको जिम्मा जिल्ला प्रहरी कार्यालयमा दिएको अध्यक्ष लालचनको भनाइ छ।

गाउँपालिकाले सीसीटीभीको सम्पूर्ण स्वामित्व जिल्ला प्रहरी कार्यालय मुस्ताङले हस्तान्तर गरेको छ भने, सीसीटीभीमा देखिने प्राविधिक समस्या र मर्मत सम्भार गाउँपालिकाले नै व्यवस्था मिलाइएको अध्यक्ष लालचनले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले विकासका लागि सडक र पूर्वाधार मात्र ठूलो नहुने र यसका लागि शिक्षा, स्वास्थ्य, अपराध नियन्त्रण र शान्ति सुरक्षा महत्वपूर्ण भएको बताउनुभयो ।प्रविधिको सहायताले नै प्रहरीलाई शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न सहज हुने उल्लेख गर्दै प्रजिअ केसीले अब चाँडै मुक्तिनाथ मन्दिरमा सीसीटीभी जडान गर्ने योजना रहेको बताउनुभयो ।