नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ २४ २០८០

 

बागलुङ, २४ जेष्ठ – नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिसवको अवसरमा धौलागिरि अस्पतालका बिरामीलाई फलफुल वितरण गरिएको छ ।

नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको आयोजना र नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको समन्वयमा धौलागिरि अस्पतालमा भर्ना भएका ५५ जना बिरामीलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रममा बोल्दै बागलुङ नगरप्रमुख एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठले स्वास्थ्य क्षेत्र निकै संवेदनशील भएकाले सबैले चासो दिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र सबैभन्दा संवेदनशील क्षेत्र भएकाले यसको सुधार र विकासका लागि सबैले चासो दिनुपर्नेँमा जोड दिनुभयो ।

धौलागिरी अस्पतालको विकास र सुधारका लागि नगरपालिकाले आफ्नो तर्फबाट पहल गरिरहेको बताउनुभयो । ‘धौलागिरि अस्पताललाई दुई सय शैयाको बनाउनका लागि हामीले मुख्यमन्त्रीज्यूसंग कुरा राखेका छौं । सबैको सहयोगबाट अस्पतालको विकास हुने भन्दै उहाँले अस्पतालले समन्वय गर्दै अगाडि बढ्नुपर्ने र नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्याय र स्वास्थ्य प्राविधिक संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष देवप्रकाश घिमिरे र सञ्चालन जिल्ला सचिव शिव केसीले गर्नुभएको थियो ।