बागलुङ लाई संघीय सरकारको ४ अर्व २६ करोड अनुदान

/ प्रकाशित मिति :
बुधबार, जेष्ठ १७ २០८០

बागलुङ, १७ जेष्ठ – संघीय सरकारले आगामि आर्थिक वर्षमा बागलुङका स्थानीय तहहरुलाई ४ अर्ब २६ करोड ३६ लाख रुपैयाँ बजेट उपलव्ध गराउने भएको छ ।

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संसदमा प्रस्तुत गर्नु भएको आगामी आर्थिक वर्षको बजेटमा बागलुङका दश स्थानीय तहलाई बिभिन्न शिर्षका सवा चार अर्ब बजेट उपलव्ध गराउने उल्लेख गरिएको हो ।

संघीय सरकारको तर्फबाट बागलुङमा सबैभन्दा धेरै बागलुङ नगरपालिकाले ९० करोड २६ लाख रुपैयाँ बजेट पाउने भएको छ । गाउँपालिका तर्फ भने सबैभन्दा धेरै बडिगाड गाउँपालिकामा ४८ करोड ५४ लाख रुपैयाँ बजेट पाउने उल्लेख गरिएको छ ।

गलकोट नगरपालिकाले ४९ करोड ५८ लाख, जैमिनी नगरपालिका ५३ करोड ४७ लाख, ढोरपाटन नगरपालिका ३७ करोड २८ लाख, काठेखोला गाउँपालिका ४२ करोड, तमानखोला गाउँपालिका २० करोड ३७ लाख, ताराखोला गाउँपालिका २५ करोड १८ लाख, निसीखोला गाउँपालिका ३० करोड ६७ लाख र बरेङ गाउँपालिका २८ करोड ९७ लाख रुपैयाँ बजेट पाउने बजेटको अनुसूचीमा उल्लेख रहेको छ ।

संघीय सरकारले उपलव्ध गराउने समानिकरण अनुदान, ससर्त अनुदान, बिषेश अनुदान र समपुरक अनुदान शिर्षका स्थानीय तहले उक्त बजेट पाउने भएका हुन् । आन्तरीक आम्दानी कम भएका स्थानीय तहलाई संघीय र प्रदेश सरकारले बजेट कम पठाउँदा बिकास निर्माणका काम गर्न कठिन हुने गरेको छ ।

संघीय सरकारले दिने बजेट, प्रदेश सरकारले दिने बजेट र स्थानीय स्रोत समेत गरेर स्थानीय सरकारले बजेटको तयारी गरिरहेका छन् ।